'हरेक ४० सेकेन्डमा एक आत्महत्या'
नेपालमा पहिलो पटक टोल फ्री 'सुसाइड प्रिभेन्सन हेल्पलाइन' मंगलबारदेखि सञ्चालनमा आएको छ।
गैरनाफामूलक संस्था मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम केन्द्रले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०–०१–२२२२३ रहेको छ।
आत्महत्या गरौं जस्तो लाग्ने व्यक्तिले अथवा कसैले आत्महत्या प्रयास गरेको व्यक्तिको परिवारले पनि सल्लाह लिनका लागि यो नम्बरमा फोन गरेर परामर्श लिन सक्ने छन् ।
आत्महत्या न्यूनीकरणका लागि यो हटलाइन २४ घन्टा सातै दिन सञ्चालनमा ल्याइएको संस्थाका कार्यक्रम संयोजक गौतम देवकोटाले बताए ।
आत्महत्या गर्नुअघिका सङ्केतलाई पहिचान गर्न सकेमा धेरै मानिसको ज्यान जोगाउन सकिने भएकाले हेल्प लाइन नम्बर शुरु गरिएको संयोजक गौतमले जानकारी दिए ।
अहिले नेपाल टेलिकम प्रयोगकर्ताहरुले मात्र यस हटलाइन नम्बरमा फोन गरेर परामर्श लिन सक्ने छन् । हटलाइनमा मनोचिकित्सकहरु परामर्शका लागि उपलब्ध हुने छन् ।
एनसेल प्रयोगकर्ताहरुका लागि पनि हटलाइन नम्बर ल्याउने तयारी गरिरहेको संयोजक देवकोटाले जानकारी दिए ।
यो संस्थाले विभिन्न कार्यक्रम, सांगीतिक कार्यक्रम, र्याली, विद्यालय कार्यक्रमहरु मार्फत मानसिक स्वास्थ्य सचेतना कार्यक्रमहरु गरिरहेको छ ।
नेपालमा आत्महत्या एउटा प्रमुख समस्याको रूपमा देखिन थालेको छ । नेपाल प्रहरीको तथ्याङ्कले आत्महत्या गर्नेहरूको संख्या वर्षेनी बढ्दै गएको देखिन्छ ।
आर्थिक वर्ष ०७५\०७६ मा मात्रै ५ हजार ७ सय ८६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ भने विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने तथ्यांक डब्लूएचओले सार्वजानिक गरेको छ ।
प्रतिवेदनमा विश्वभरि आत्महत्या गर्नेको संख्या घटिरहेको छ । सन् २०१० देखि सन् २०१६ सम्ममा झण्डै १० प्रतिशतले कमी आएकाे तथ्यांकमा उल्लेख छ।