पशुपति आरतीमा राष्ट्रगान नरोक्न मन्त्री योगेश भट्टराईको निर्देशन
पशुपतिमा हरेक साँझ हुने आरती अगाडि राष्ट्रिय गान बजाउने सरकारको निर्देशन विवादमा परेको छ ।
सरकारको निर्देशनपछि केही दिन अगाडिबाट पशुपतिमा आरती अगाडि राष्ट्रिय गान बजाउने काम शुरु भएको थियो । तर, सोमबार भने आरती शुरु गर्नु अगाडि राष्ट्रिय गान बजाइएन ।
राष्ट्रिय गान नबजाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले यसबारे प्रष्टिकरण लिएका छन् । मन्त्री भट्टराईका सचिवालय स्रोतका अनुसार सोमबार मोबाइलमा गीत नबजेकाले राष्ट्रिय गान रोकिएको बताइएको छ ।
“आरती गर्दा मोबाइलबाट गीत बजाउने रहेँछ । हिजो मोबाइलमा गीत नबजेकाले राष्ट्रिय गान नबजाइएको जानकारी आएको छ”, मन्त्रीका सचिवालयले हिमालखबरसँग भन्यो ।
तर, आजबाट फेरि राष्ट्रिय गान बजाउन निर्देशन दिइएको छ । मन्त्रीका सचिवालयका एक सदस्यले भने, “आजबाट राष्ट्रिय गान बज्छ, मन्त्रीले निर्देशन दिइसक्नुभयो ।”
धार्मिक संस्कृतिसँग जोडिएको आरती अगाडि राष्ट्रिय गान बजाउन उचित नहुने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमै आपत्ति जनाइसकेको छ ।