आजबाट नेपालमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने
दक्षिण एशियाको पहिलो क्रस बोर्डर मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको आज (मंगलबार) उद्घाटन हुँदैछ । यसअघि नै सफल परीक्षण र शुद्धताको चाँज भइसकेको पाइपलाइनको नेपाल र भातरका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्त रुपमा स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । पाइपलाइन दिउँसो १२ः१५ बजे उद्घाटन हुने नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
“पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको छ”, प्रवक्ता गोइतले भने, “नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले इलेक्ट्रिक स्वीच थिची उद्घाटन गरेपछि तत्काल पाइपमार्फत डिजेल आउन शुरु हुनेछ ।”
उद्घाटनको दृष्य नेपाल आयल निगमको अमलेखगञ्ज डिपो र भारतीय आयल निगम कर्पोरेशनको मोतिहारी डिपोबाट प्रत्यक्ष हेर्नसक्ने व्यवस्था स्क्रिनमा गरिएको बताइएको छ ।
नेपाल आयल निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनमा आएपछि अब वार्षिक रु दुई अर्ब बचत हुने बताइएको छ ।
यसबाट पर्यावरण विनाश, राजमार्गमा हुने ट्राफिक जाम, दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ ।
२०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार पाइपलाइन निर्माण भएको हो । २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेका थिए ।
शुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको बताइएको छ ।
पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भू–भागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको संयुक्तलागत करीब रु ७५ करोड लगानी रहेको छ ।
भारत सरकारको चार अर्ब ४० करोडको आर्थिक सहयोगमा निर्माण भएको पाइपलाइनको लम्वाई ७० किलोमिटर रहेको र पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर तथा नेपालतर्फ ३७.५ किलोमिटर लम्वाई रहेको छ । पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ ।