पानी माग्दै किसानले गरे खेतमै प्रदर्शन
–सञ्जय मित्र, रौतहट
खेतमै धान सुक्न लागेपछि सिंचाइ कार्यालयसँग पानीको माग गर्दै रौतहटको गढीमाई नगरपालिकाका किसानहरूले खेतमै प्रदर्शन गरेका छन् ।
उनीहरूले बागमती सिंचाइ आयोजनाले विभेद गरेर पानी नदिएको आरोप लगाएका छन् ।
गढीमाई–२ समनपुरका हरि श्रेष्ठले सिंचाइका कर्मचारीको पानी बाँडफाँटमा चरम विभेदका कारण समनपुर, सुन्दरपुर, हथिऔल, मदनपुर लगायत विभिन्न गाउँका हजारौँ बिघा धानखेत बर्बाद भएको आरोप लगाएका छन् ।
“नहर बनाउन सरकारले खेत लियो तर नहरमा पानी दिँदैन । पानी नदिँदा खेतको धान मर्नै लागेको छ । भदौको अन्तिमसम्म सिंचाइ डिभिजनले ध्यान नदिँदा सिंचाइ हुन सक्ने हजारौं बिघा धानखेत बर्बाद भएको छ”, स्थानीय महिन्दर महतोले बताए ।
आफ्नो करीब दुई बिघा धानखेत बर्बाद भएको महतोको दाबी छ ।
नहरको सफाइ तथा मरम्मतका लागि हरेक वर्ष बजेट आउने गरेको तर सुन्दरपुर, समनपुर, मदनपुर तथा हथिऔलका किसानको खेतमा पानी जाने नहरको मरम्मत अहिलेसम्म नगरिएकोले खेत बाँझोजस्तै भएको दीपेन्द्र श्रेष्ठको भनाइ छ ।
२०५३ सालमा नहरको निर्माण भए पनि अहिलेसम्म कुनै पनि वर्ष राम्रोसँग सिंचाइ हुन नपाएको श्रेष्ठ बताउँछन् ।
महँगो बीउ किनेर मल, बीउ तथा श्रमिकमा लाखौँ खर्च गरिसकेका किसानको हजारौँ बिघा खेतमा धान नफल्दा त्यसको जिम्मेवारी डिभिजन सिंचाइ कार्यालयले लिनुपर्ने र किसानहरूले सिंचाइ कार्यालयसित नै क्षतिपूर्ति माग्ने श्रेष्ठले बताएका छन् ।
सिंचाइले क्षतिपूर्ति नदिए आफूहरूले विभिन्न किसिमको आन्दोलन गर्ने चेतावनी पनि उनले दिएका छन् ।