झापामा विष्फोट, दुई जना पक्राउ
झापाका दुई स्थानमा आइतबार राति विष्फोट भएको छ । विष्फोट गराएको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह नगरपालिकामा विष्फोट हुँदा एउटा गाडीमा क्षति पुगेको छ ।
नगरपालिकामा राखिएको बा २ झ २५७० नम्बरको बोलेरोका चार वटै टायर पड्कीएको प्रहरीले बताएको छ । गाडीमुनिको जमिनमा खाल्डो परेको प्रहरीले बताएको छ ।
एकै पटक चार वटै टायर पड्किने गरी भएको विष्फोटपछि गाडीमा पूर्ण रुपमा क्षति पुगेको छ । नगरपालिकामा थप बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गएको छ ।
बिर्तामोडस्थित साहारा नेपाल सहकारीको भवनमा राति नै बम विष्फाेट भएको छ । विष्फोटबाट सहकारीको निर्माणाधीन भवनका सीसाहरु फुटेको प्रहरीले बताएको छ ।
त्यहाँ लगाइएको सीसीटीभी क्यामेराले रेकर्ड गरेका ब्यक्तिहरुको हुलिया मिल्दो जुल्दो भएकाले दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । क्यामेरामा देखिएका अनुहार भएका मानिस खोज्ने क्रममा दुई जना फेला परेको प्रहरीले बताएको छ ।
-कमल रिमाल