कांग्रेस सांसदले दिए संविधान परिवर्तनको चेतावनी
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले संविधान परिवर्तन वा जनमत संग्रहका लागि बाध्य नपार्न सरकारसँग आग्रह गरेका छन् ।
आइतबारको संसद बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद कँडेलले गाईको संरक्षण नभए हिन्दू राष्ट्रको पक्षमा वा जनमत संग्रहका लागि विद्रोह हुने चेतावनी दिए ।
सांसद कँडेलले भने, “सडक र सदनबाट सनातन हिन्दू राष्ट्रको पक्षमा वा जनमत संग्रहका लागि विद्रोह गर्नुपर्ने अवस्था नआओस् ।
त्यस्तो अवस्था आए ओमकार परिवार संविधान परिवर्तनका लागि आन्दोलित हुन बाध्य हुनेछौं ।”
सांसद कँडेलले गाई र जंगली जनवारबीच विभेदित कानून रहेको उनले बताए । भने, “गाई मार्दा तीन वर्ष कैद र चोट लाग्दा ६ महीना कैद अथवा ५० हजार जरिवाना हुने तर, गैडा, बाघ, हात्ती, कस्तुरी, मृग मार्नेलाई पाँचदेखि दश लाख जरिवाना वा पाँच वर्षदेखि १५ वर्ष कैदको सजाय हुने अवस्था छ ।”
१९ भदौमा ६ वटा गाई मरेका भेटिएकाले यसबारे छानबिनको माग समेत गरे ।