तीन प्रदेशमा कांग्रेसले पठायो केन्द्रीय प्रतिनिधि
नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ ।
२४ भदौदेखि प्रारम्भ हुने दोस्रो चरणको जागरण अभियानका लागि प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रतिनिधिको नाम टुंगो लगाई खटाइएको पार्टी कार्यालयले जनाएको छ ।
प्रदेश नं १ का ५६, कर्णाली प्रदेशका २४ र सुदूरपश्चिम प्रदेशका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य, पूर्वसांसद, पूर्व जिल्लासभापति, प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार भइसकेका व्यक्तिलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको हो।
बाँकी चार प्रदेशका लागि पनि आइतबार नै नाम टुङ्गो लगाई खटाइने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । अभियान विपी कोइरालाको १०६औँ जन्मजयन्तीका दिन भदौ २४ गते प्रारम्भ भई आगामी असोज ७ गते समापन हुने उनले बताए ।
दोस्रो चरणको अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन् ।
जागरण अभियानको दोस्रो चरणमा पूर्वघोषणाअनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित अभियान सम्पन्न गरिने प्रवक्ता शर्माले बताए। जसअनुरूप हरेक क्षेत्रमा एक\एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाउन लागिएको हो ।