कला/साहित्यशनिबार, २१ भाद्र , २०७६

सगरमाथा आधार शिविरमा नोवेल पुरस्कार विजेतासहितको सम्मेलन गरिने

हिमालखबर

-बिजय तामाङ, बोष्टन, अमेरिका

गैर आवासीय नेपाली संघ (एनआरएनए) को पहिलो अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलनले सगरमाथा वा अन्नपूर्ण आधार शिविरमा नोवेल पुरस्कार विजेताहरुको सहभागितामा सम्मेलन गर्ने घोषणा गरेको छ ।

अमेरिकाको बोस्टनमा १–२ सेप्टेम्बरमा सम्पन्न सम्मेलनले ६ बुँदे घोषणापत्र जारी गर्दै पर्यटन वर्ष २०२० लाई सफल बनाउन नोवेल पुरस्कार विजेताहरुको सहभागितामा नेपालमै अर्को सम्मेलन गर्ने निर्णय गरेको हो ।

सम्मेलनले भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रुपमा मनाउने, प्रत्येक महादेशमा नेपाली कृतिहरूलाई त्यहाँका स्थानीय भाषामा अनुवाद गरी प्रकाशन गर्ने, प्रत्येक दुई वर्षमा नेपाली भाषा साहित्य सम्मेलन गर्ने, प्रवासमा बसेर नेपाली भाषा साहित्यमा निरन्तर योगदान दिने साहित्यकार र विधाको सूची तयार पार्ने र डायस्पोरामा नेपाली भाषा साहित्यमा निरन्तर सेवा गर्ने साहित्यकारहरूलाई छनोट गरी सम्मान घोषणा गरेको छ ।

बोस्टनमा सम्पन्न सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीसहित विशिष्ट व्यक्तिहरुलाई आमत्रण गरिएको थियो ।

सम्मेलनमा प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल, रेडियो नेपालका ‘बिम्ब प्रतिबिम्ब’ कार्यक्रमका संचालक रमेश पौडेल, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, नेपाली भाषा साहित्य उपसमितिका संयोजक तथा रसियाका क्षेत्रीय संयोजक गोविन्द गौतम, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकी उपाध्यक्ष रसियाबाट सपिला राजभण्डारी, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष नाइजेरियाबाट हिक्मत थापा, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य तथा उत्तर अमेरिकाका क्षेत्रीय संयोजक टेक्सास अमेरिकाबाट गौरी जोशी, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाली भाषा साहित्य उपसमितिका सदस्य सानफ्रान्सिस्को क्यालिफोर्नियाबाट मणि पनेरू, सम्मेलनका प्रचार प्रसार संयोजक सानफ्रान्सिस्को क्यालिफोर्नियाबाट सर्वज्ञ वाग्ले, आर्थिक संयोजक न्यूह्याम्सायरबाट इश्वरी भट्ट, नेपाल भाषा तथा साहित्य उपसमितिका सदस्य क्यानाडाबाट डा. गोविन्द सिंह रावतलगायत सहभागी थिए ।

सम्मेलनको पहिलो दिन रात्री भोजसहित हिमालय विस्ट्रो वेष्ट रक्सवरीमा पाहुना परिचय तथा काव्यगोष्ठीको आयोजना गरिएको थियो ।

काब्यगोष्ठीमा गजलकार कृष्ण कुसुम, डा. गोविन्दसिंह रावत, गोविन्द गिरी प्रेरणा, सर्वज्ञ वाग्ले, लालगोपाल सुवेदी, मणि नेपाली पनेरू, गोविन्द गौतम, ममता कर्माचार्य, अनु शाह, रमेश पौडेल, हिक्मत थापा, सुरेन उप्रेती, अग्नि पराजुली, तारा उप्रेती लगायतले कविता बाचन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस