परेवाको बलि रोक्न जोड
शान्तिको प्रतीक मानिने परेवाको बलि बन्द गर्नुपर्नेमा २१ भदौमा काठमाडौंमा आयाजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नवौं हिमालयन परेवा उडान प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्न आयोजित कार्यक्रमका वक्ताहरुले त्यस्तो धारणा राखेका हुन् ।
कार्यक्रमका मुख्य वक्ता, क्लबका सल्लाहकार एवं परेवा पालनका साैखिन गीर्वाण विक्रम शाहले परेवालाई शान्तिको सन्देशबाहकको रुपमा मानिए पनि कतिपय मठमन्दिरहरुमा दिने गरिएको वलि रोक्न जरुरी रहेको बताए । क्लबका सल्लाहकार मधुशमशेर राणा, गीतकार बुद्धवीर लामा लगायतले परेवाका गुँड मासिएकाले शहरबाट परेवा कम हुँदै गएको बताए ।
विजेता चिनिटाउके
हिमालयन परेवा उडान क्लबले २३ चैत २०७५ मा उडान गणना गरेको काठमाडौं, डल्लुका गोपाल मालाकारको चिनिटाउको जातको परेवा लगातार ५ घण्टा १७ मिनट उडेर अरु २१ प्रतिस्पर्धी परेवालाई उछिनेको थियो । यो स्पर्धामा एकमात्र प्रतिस्पर्धीलाई विजेता घोषणा गरिएको थियो ।
समूह प्रतियोगितातर्फ राजकुमार बासु श्रेष्ठका २५ घण्टा २९ मिनेट उडेका परेवा प्रथम, उज्जवल रिमालका २४ घण्टा ४ मिनेट उडेका परेवा द्धितीय, क्षितिज भुुसालका २३ घण्टा २४ मिनेट उडेका परेवा तृतीय भएका थिए । त्यस्तै, उज्जवल प्रधानका २३ घण्टा २४ मिनेट उडेका परेवा चतुर्थ र कालेन श्रेष्ठका २३ घण्टा १७ मिनेट उडेका परेवा पाँचौं भएका थिए ।
समूहतर्फको प्रतियोगितामा हरेकले ५ देखि ७वटासम्म परेवालाई प्रतिस्पर्धामा उडाउनसक्ने प्रावधान थियो । विजेताहरुलाई क्लबका अध्यक्ष गोरखशमशेर राणा र अन्य अतिथिले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
यो प्रतिस्पर्धामा परेवा उडाउन चाहने पालकले क्लबलाई खबर गरेपछि क्लबबाट गएका परीक्षकको उपस्थितिमा विभिन्न समयमा परेवा उडेको समय गणना गरी विजेता छनाेट गरिएको क्लबले जनाएको छ ।
उपत्यकामा राजा पृथ्वी वीरविक्रम शाहको पालादेखि भारतबाट ल्याइएका चिनिटाउके, भुर्रा, कागजी लगायत जातका परेवा पाल्ने चलन भित्रिएको परेवा पालनका सोखी गीर्वाण विक्रम शाह बताउँछन् ।
यस्तो घरपालुवा परेवा केही घण्टा आकाशमा उडेर पुनः पहिलेकै घरमा फर्किने गरेको परेवा पालकहरु बताउँछन् । क्लबले घरबाट उडेको परेवा नफर्किउन्जेलसम्मको समय गणना गरी विजेता घोषणा गर्ने गरेको क्लबका महासचिव शैलेन्द्रविलाश बज्राचार्यले बताए । २०६६ सालमा राणाको अध्यक्षतामा स्थापित क्लबले हरेक वर्ष परेवा उडान प्रतियोगिता आयोजना गरिरहेको छ ।