मेलम्ची क्षेत्रमा पाँचजना भन्दा बढी एकै पटक हिंड्न नपाइने
मेलम्ची खानेपानी आयोजनास्थल परिसरमा एक पटकमा पाँचजना भन्दा बढी एकै पटक हिंडडुल गर्न नपाउनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा जिल्ला प्रशासन सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
राष्ट्रिय गौरवको आयोजना भएकाले मजदुरले आन्दोलनमा उत्रिएर काममा बाधा पुर्याएपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) अनुसार निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले बताइन् ।
इटालियन ठेकेदार सीएमसीले ठेक्का तोडेर गएपछि सीएमसीको धरौटी रकम कट्टा ज्याला र सामानको भुक्तानी पाउनुपर्ने माग गर्दै स्थानीय ठेकेदार तथा मजदुर बुधबारदेखि धर्नामा बसेका थिए ।
धर्नाका क्रममा आन्दोलनकारी र प्रहरीबीच बिहीबार झडप हुँदा प्रहरीले अश्रुग्याँस तथा रबरको गोली प्रहार गर्दा केही मजदुर घाइते समेत भएका थिए । सीएमसीले छाडेपछि सरकारले बाँकी काम पूरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिएको छ ।