टिप्पणीशुक्रबार, २० भाद्र , २०७६

बौद्ध समाजमा जातीय सङ्कीर्णता

वसन्त महर्जन

बौद्ध धर्मका अनुयायीले गौरव मान्ने र अरूले पनि प्रशंसा गर्ने विषय हो– जातीय भेदभावको विरोध । नेपाली बौद्ध समाज यही कुरामा विचलित भएको पाइनु उदेकलाग्दो विषय हो र उत्तिकै आपत्तिजनक पनि ।

वसन्त महर्जन

विद्यमान जातीय सङ्कीर्णता विरुद्ध बुद्धभन्दा अघि नै जैन धर्मका प्रवर्तक महावीरले आवाज उठाइसकेका थिए । पछि बुद्धले जातिवादको अनौचित्य अघि सार्दै समानताको वकालत गरेको कुरा बौद्ध मतको पक्ष र विपक्ष दुवै साहित्यमा उल्लेख गरिएको छ ।

त्रिपिटकमा सङ्ग्रहित विभिन्न सूत्रमा जातिवादको अनौचित्य सिद्ध गर्न दिइएका उपदेशहरूमा मुख्यतः अम्बट्ठ, एसुकारी, वासेट्ट, वसल, सुन्दरिक भारद्वाज, सोणदण्ड सूत्र प्रसिद्ध छन् । बुद्धको महापरिनिर्वाण पछि भिक्षु महाकात्यायणद्वारा मधुरा (मथुरा) का राजा मधुरलाई गुन्दावन (वृन्दावन) मा दिएको उपदेश ‘मधुर सूत्र’ पनि त्रिपिटकमा परेको छ । यी सूत्रहरूमा प्रायः ब्राह्मण वर्गको सर्वोच्चताको अनौचित्य प्रष्ट्याउने विषयवस्तु छन् ।

यही कुरा प्रष्ट्याउन ‘धम्मपद’ मा पनि ‘ब्राह्मणवग्गो’ भनेर छुट्टै अध्यायको व्यवस्था गरिएको छ । यी बाहेक अनेकौं प्रसङ्ग उल्लेख गरेर नेपाली बौद्ध समाजले जातीय सङ्कीर्णताको चर्चा गरिरहेको पाइन्छ । ब्राह्मण समुदायमा रहेको जातीय व्यवस्था वा मान्यताको आलोचना आफ्नो ठाउँमा छ । त्यही कुरा अन्य समुदायमा पनि लागू गर्न सकिन्छ भन्ने कुरा भने बौद्धमतावलम्बीहरूलाई हेक्का नरहेको प्रतीत हुन्छ ।

परम्परागत नेपाली बौद्ध समाजमा वज्रयानी बौद्ध दर्शन अनुसार वज्राभिषेक लिएकालाई वज्राचार्य भनिन्छ । विधिवत् चूडाकर्म गरी चार दिनको भिक्षु जीवन विताएर गृहस्थमा फर्केर वज्राभिषेक लिने वज्राचार्य हुन् । वज्राभिषेक नलिएका तर चूडाकर्म सम्पन्न भई चार दिनको भिक्षुव्रत पूरा गरेका शाक्य हुन् । यो परम्पराले हाम्रो बौद्ध समाजमा जातीय रूप लिइसकेको छ ।

शाक्य र वज्राचार्यका कुलपुत्रले बाहेक अन्य जातीय समुदायले यस संस्कारमा प्रवेश नै पाउँदैन । अन्तरजातीय विवाहबाट जन्मेका कुलपुत्रको चूडाकर्म नै नहुने समस्या रहेकोमा केही दशक अघिबाट बल्लबल्ल चूडाकर्मसम्म गर्ने चलन त आयो तर तिनीहरू विहारमा समान अधिकार पाउनबाट बञ्चित छन् । बौद्ध समाज नै भए पनि जातीय सङ्कीर्णताले कुन हदसम्म जरा गाडेको छ भन्ने बुझ्न यो एउटा ज्वलन्त उदाहरण हो ।

स्वयम्भूको दर्शन गर्न सन् १९२५ तिर काठमाडौं आएका क्यान्छ्या लामाबाट नेपाली बौद्ध समाज प्रभावित भएका थिए । पूजापाठ र कर्मकाण्डमा सीमित बौद्ध समाजमा लामाले धर्म सम्बन्धी दिएको प्रवचनले भिन्नै प्रकारको धार्मिक जागरण ल्याएको थियो ।

धर्म उपदेशको श्रवणमा आपत्ति जनाउन त मिलेन तर लामालाई वन्दना गरेकोमा वज्राचार्य वर्गको ठूलो आपत्ति थियो । लामालाई वन्दना गर्नेको घरमा पूजा नगर्ने, भातभान्सा बाहेक गर्ने लगायतका कुरा जातीय सङ्कीर्णताको अर्को उदाहरण बन्यो ।

प्रारम्भिक बौद्ध धर्म (बुद्धकालीन) थेरवाद हो भन्ने यो सम्प्रदायको दाबी छ । र, नेपाली थेरवादीहरू पनि जातीय सङ्कीर्णताबाट मुक्त भने छैनन् । काठमाडौंको नेवार समाज वैदिक मूल्यमान्यतामा आधारित होइन तर जाति व्यवस्थाको मामिलामा भने ती मूल्यमान्यताबाट प्रभावित छ ।

परम्परागत नेपाली बौद्ध समाजमा वज्रयानी बौद्ध दर्शन अनुसार वज्राभिषेक लिएकालाई वज्राचार्य भनिन्छ । विधिवत् चूडाकर्म गरी चार दिनको भिक्षु जीवन विताएर गृहस्थमा फर्केर वज्राभिषेक लिने वज्राचार्य हुन् । वज्राभिषेक नलिएका तर चूडाकर्म सम्पन्न भई चार दिनको भिक्षुव्रत पूरा गरेका शाक्य हुन् । यो परम्पराले हाम्रो बौद्ध समाजमा जातीय रूप लिइसकेको छ ।

समाज विकासका विभिन्न चरणमा वैदिक मूल्यमा आधारित भएर विधिहरू बाँधेको पाइन्छ । यस अनुसार स्थापित तल्लो र माथिल्लो जातीय तहगत व्यवस्था हिन्दू नेवारमा हुनु स्वाभाविक हो तर नेवार बौद्ध समाजले पनि यसलाई अँगालेको छ ।

थेरवादी बौद्ध परम्परामा दीक्षित भिक्षुहरूको ठूलो अंश शाक्य र वज्राचार्य पृष्ठभूमिका छन् । यसपछि तुलाधर लगायतका उदाय्, मानन्धर, चित्रकार, महर्जन आदि समुदायका छन् । उपासक उपासिकाहरू पनि प्रायः यही समुदायका छन् ।

तहगत रूपमा सबैभन्दा मुनि पारिएको नेवार समुदाय न बौद्ध धर्मतिर आकर्षित छन् न त आकर्षित पार्ने योजना वा मनसाय नै बनाएको देखिन्छ ।

वैदिक परम्परा अनुसारको शूद्र होस् वा ब्राह्मण वर्ण, बौद्ध समाजलाई चासोको विषय हुनु नपर्ने हो । स्थानीय समाजमा छोइछिटो बार्नुपर्ने जातिबाट भिक्षु बनेको भन्ने आधारमा केही वर्षअघि लुम्बिनी क्षेत्रमा भएको विवाद साम्य भए पनि प्रवृत्तिमा भने खासै परिवर्तन आइसकेको छैन ।

वज्रयानी र थेरवादी दुवै सम्प्रदायका बौद्ध समाजमा विवाहवारी तथा अन्य कुरामा एकै खालको जातीय सङ्कीर्णता पाइन्छ । वज्रयानको आलोचना गर्ने र थेरवादको नेतृत्व पंक्तिमा पुगे पनि परम्परागत वज्रयानी विहार वा परम्परासँगको आवद्धता तोड्न नसक्नु अर्को रोचक पक्ष हो ।

बौद्ध समाजमा जातीय सङ्कीर्णता भन्नु आफैंमा विरोधाभासपूर्ण कुरा हो । नेपाल बौद्ध समाजको सन्दर्भमा यो यथार्थ पनि हो । 

प्रतिकृया दिनुहोस