वीरगञ्ज: रामविनेशका हत्यारालाई आन्दोलनकारी भन्दै उनमुक्ति नदिन आग्रह
मधेश आन्दोलन चलिरहेका बेला गत कार्तिकमा हत्या भएका रामविनेश प्रसाद कुशवाहका परिवारले आन्दोलनकारीका नाममा हत्यारालाई उन्मुक्ति नदिन सरकारसँग आग्रह गरेका छन् ।
मृतक रामविनेशका दाई दिनेशप्रसाद कुशवाहले २६ साउनमा जिल्ला प्रशासन कार्यालय पर्सामार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
“हत्या जस्तो जघन्य तथा गम्भीर प्रकृतिको अपराधलाई पनि मधेश आन्दोलनसँग जोडेर अपराधिलाई उन्मुक्ति दिने प्रयास भइरहेको छ,” दिनेशले भने, “जो भए पनि मेरोभाईको हत्या गर्ने हत्यारा नै हो, कारवाही हुनै पर्छ ।”
विस्थापित फर्काउने बहानामा रामविनेशको हत्या गरी फरार भएकाहरुलाई कर्तव्य ज्यान मुद्दा समेत फिर्ता लिन लागिएको उनले बताए ।
कात्तिक २०७२ मा वीरगञ्जमा आन्दोलन चलिरहेका बेला रामविनेशको हत्या भएको थियो । आफ्नै काममा घरबाट निक्लेका रामविनेशलाई आन्दोलनकारी भनिनेहरुले आन्दोलनका बेला पेट्रोलको कारोबार गरेको भन्दै हत्या गरेको आफन्तको भनाई छ ।
ड्राईपोर्ट परवानीपुर सडक खण्ड अन्र्तगत पर्ने वीरगञ्ज–२५ मनियारीको जगरनाथपुर टोल नजिक रामविनेशको शव फेला परेको थियो ।
जगरनाथपुरका अमर प्रसाद यादव लगायतले मोटर साईकलबाट तेल निकाली कुटपिट गरी निर्मम तरिकाबाट हत्या गरी फालेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन् ।
अमरप्रसाद यादव हाल पुर्पक्षका लागि वीरगञ्ज कारागारमा छन् । अदालतमा चलिरहेको मुद्दा राजनीतिका नाममा मन्त्रिपरिषदबाट फिर्ता लिने पहल भइरहेको जानकारी आफूले पाएको दिनेशले बताए ।
“अपराधीलाई पनि आन्दोलनसँग जोडेर उन्मुक्ति दिँदा दण्डहिनता मौलाउँछ । हामी जस्ता पीडितलाई थप पीडा दिन्छ,” दिनेशले भने, “यस्तो गर्न पाइँदैन ।”
दिनेशले जिल्ला प्रशासन, गृह मन्त्रालय, मन्त्रिपरिषदको कार्यालय साथै मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहेका मानव अधिकारकर्मी लगायत सम्बन्धित सबैसँग न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
मृतकका बुवा देवनारायण कुशवाहा, आमा सरस्वती देवी समेत ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका थिए ।
सुरेश बिडारी, वीरगञ्ज