वडाध्यक्षले झोलुङ्गे पुल नै बेचिदिए कवाडीलाई, दुई जनाले बाँडे पैसा
नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् ।
विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीलाई बिक्री गरेको आरोप लगाइएको छ ।
विसं २०२१ मा निर्माण भएको सो पुल स्थानीय तहका जनप्रतिनिधिले संरक्षण गर्नुको साटो उल्टै बेच्दा पनि वडाका आम नागरिकलाई केही थाहा नदिइएको स्थानीयवासी बताउँछन् । पुराना सम्पदा बेच्दा सार्वजनिक रुपमा निर्णय नगराई बेची दिँदा देवीघाटका वासिन्दा दुखित बनेका छन् ।
कबाडीलाई शुरुमा तीन लाखमा बेच्ने हल्ला भएको र पछि ७० हजारमा मात्र बेचिएको थाहा भएको देवीघाट जाल्पा क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सुरथबहादुर चित्रकारले बताए ।
उनले भने, “पञ्चायत कालमा निकै मिहिनेत गरेर पुलको निर्माण गरिएको हो ।पछि त्यही पुलसँगै अर्को पक्की पुल निर्माण भएपछि साना ठूला गाडी पक्की पुलबाट र पैदल यात्रु झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरेका थिए ।”
बेलकोटगढी–८ का वडाध्यक्ष पुडासैनीले पुल कहाँ कसरी बेचियो भन्ने कुरा आफूलाई थाहा नभएको र रु ३५ हजार भने विदुर–५ का वडाध्यक्षले तपाईँको भाग भनेर पठाएको जानकारी दिए । उनले बेलकोटगढी नपा–८ र विदुर नपा–५ को सिमानामा रहेको झोलुङ्गे पुल बेच्ने कुनै लिखित निर्णय नभएको पनि बताए ।
विदुर–५ का वडाध्यक्ष शिवकुमारले पुल आफूले मात्र नभई बेलकोटगढी नपा–८ का वडाध्यक्ष पुडासैनीसँगको समन्वयमा नै बिक्री गरेको दाबी गरे ।
“गल्छी–त्रिशूली सडक आयोजनाले सडक बनाउँदा पुललाई लथालिङ्ग पारेर छाडेको तथा पुरानो प्रयोगविहीन रहेकाले कवाडीलाई बेचेका हौँ”, उनले भने, “कबाडीलाई ७० हजारमा बेची ३५–३५ हजार दुवै वडाले बाँडेर लिएका थियौँ ।”