दस्तावेजबिहिबार, १९ भाद्र , २०७६

भोटसँग मिलेर बस्न नसक्ने जङ्गबहादुरको जवाफ

ज्ञानमणि नेपाल

चिनियाँ बादशाहले ‘सिमानाका राजासँग मिलिजुली रहनू’ भनेर सुझाव दिए पनि जङ्गबहादुरले भोटले मनपरी गर्ने गरेको भन्दै मिलेर बस्न नसक्ने व्यहोरा पत्र मार्फत जाहेर गरेका थिए।

ज्ञानमणि नेपाल

प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणाले भोटसँग लडाइँको तयारी गर्दै बाहिर भने चीनमा उठेको ताइपिङ विद्रोह दबाउन सैन्य सहायता पठाउने भनेर चिनियाँ अम्बा मार्फत त्यहाँका बादशाहलाई एकपछि अर्को अर्जीपत्र पठाएका थिए ।

पत्रमा बादशाहलाई सहयोगका लागि फौजी तयारी गरिरहँदा भोटले आफूमाथि नै हमला हुन लागेको आशङ्का गर्दै नेपाली बेपारीहरूलाई दिइरहेको सास्ती अन्त्यका लागि पहल गरिदिन विशेष आग्रह समेत गरिएको थियो ।

जङ्गबहादुरले सैन्य सहयोग गर्ने चाहना सहितको पत्र श्री ५ मार्फत बारम्बार पठाएपछि चिनियाँ बादशाहको प्रत्युत्तर ल्हासामा आएको दुई महीनापछि अन्ततः अम्बा टुन्तारिनले नेपालमा पत्र लेखे ।

पत्रमा ‘वैरीलाई तह लगाउन चिनियाँ सिपाहीहरू आफैं सक्षम रहेको, टाढाबाट आउँदा समस्या पर्ने भएकाले फौज नपठाउन र भोटसँगको सवालमा सिमानाका देशसँग मिलेर बस्न’ चिनियाँ बादशाहले सुझाएको भनिएको थियो ।

यसपछि नेपालबाट चिनियाँ बादशाहको पराक्रमको तारिफ गर्दै पत्र पठाइयो । त्यहाँ सैनिकको संख्या एक करोडभन्दा बढी होलान् र भारदार नै एक हजार भन्दा बढी भएकाले बादशाहको दरबार ईश्वरको जस्तो पराक्रम भएको भनेर प्रशंसा गरिएको थियो । बादशाहलाई पहिलेदेखि नै भित्री मनदेखि मान्दै आएको र अबका दिनमा पनि मानिरहने वाचा समेत पत्र मार्फत गरिएको थियो ।

छिमेकी राजासँग मिलेर बस्नू भन्ने सुझावमा भने विमति राखिएको थियो । भोटले गरेका अर्घेल्याइँबारे पहिले नै जानकारी गराएको भन्दै पत्रमा लेखिएको थियो, “जीउज्यान मार्ने र मनपरी गर्नेसँग कसरी मिलीजुली रहनु ?”

भोटका अर्घेल्याइँहरू सहन सक्ने खालका नरहेको र यसबारे पछि पनि बेलिविस्तार लगाउने व्यहोरा पत्रमा उल्लेख थियो । पत्रमा कूटनीतिक रूपमा मुलायम भाषाको प्रयोग गर्दै बादशाहका लागि ज्यान दिन तयार रहेको वाचा दोहोर्‍याइएको थियो ।

तर चीनको विद्रोह दबाउन फौज पठाउने प्रचार गरिए पनि खास उद्देश्य त भोटमा आक्रमण गर्ने नै थियो । यसै कारण चिनियाँ बादशाहबाट सैन्य सहयोग आवश्यक नरहेको जवाफ आएपछि नेपाललाई हाइसन्चो भयो । गोर्खा दरबार भोटमा आक्रमण गर्ने तयारीमै केन्द्रित हुन थाल्यो ।

त्यही वेला पुरानो ताक्लाखारमा रहेका जमादारले नूनको साह्रै खाँचो परेको भनेर भोटको सीमामा बस्ने ढेवालाई पत्र लेखेका थिए । ढेवाले ६ मुरी नून पठाइदिएको र रकम पठाइदिन भनेका थिए । यताबाट जाने सीमा बेपारी र उताबाट आउने नेपालीलाई रोकटोक नगर्नेबारे ढेवा र जमादारको सहमति भयो ।

त्यसै समयमा बैतडी गढीबाट कीर्तिबहादुरले प्रधानमन्त्री जङ्गबहादुरकहाँ एक खबरपत्र पठाए । पत्रमा महाकाली नदीको मूल कालापानीदेखि ४/५ कोसमा एक हजार घरको बस्ती कोटगाउँ रहेको र सम्पन्न मानिसहरू बस्ने त्यस ठाउँमा भोटका ढेवा बस्ने गरेको सूचना दिइएको थियो ।

चीनको विद्रोह दबाउन फौज पठाउने प्रचार गरिए पनि खास उद्देश्य त भोटमा आक्रमण गर्ने नै थियो । यसै कारण चिनियाँ बादशाहबाट सैन्य सहयोग आवश्यक नरहेको जवाफ आएपछि नेपाललाई हाइसन्चो भयो । गोर्खा दरबार भोटमा आक्रमण गर्ने तयारीमै केन्द्रित हुन थाल्यो ।

घुम्न १५/२० दिन लाग्ने त्यस क्षेत्रमा नून खानी रहेको र ५०/६० हजार उठ्दो रहेछ । सिमानाका भोटेहरूले आफूहरूलाई नै समर्थन गर्ने र ४/५ सय बन्दूकधारी सिपाही भए कोटगाउँ सजिलै कब्जा गर्न सकिने व्यहोरा पनि पत्रमा उल्लेख गरिएको थियो ।

गोर्खा सरकारबाट ल्हासाका टुन्तारिन अम्बालाई लेखिगयाको

श्री चिन बादशाहको मुलुकमा सिपाहि ज्मादार गर्दा १०० लाख भन्दा बढ्ता हुनन्. सस्त्र अस्त्र भयाका भारदार १००० मा बढ्ता छन् भनि लेख्नुभयाका अर्थ श्री इश्वरको जस्तो पराक्रम भयाको श्रीचीनबादशाहको बडो दर्वार हो. आफूहरूबाट लेख्नु भयाको हामीलाई प्रतित छ. वादशाहका हकलाई अघिदेखि मुखपेटले यकत्व भै आयाकाछौं अब उप्रान्त पनि मान्यै छौं. सिवानाका राजासंग मिलीजूली रहनु भनि लेख्याका कुरालाई ज्यूमार्न्या थितिमा लेख्याका कुरा उल्टै मनपरि गर्न्या सित कस्तारितसँग मिलीजुली रहनु भोटले हामी माथि अर्घेली गर्याका कुरा कार्तिक सुदी ८ रोज १ का दिन लेखिगयाको पत्रले सबै विस्तार बुझियेला. श्री चिन बादशाहका हकमा हुकुममा नि धनज्यू दिन तयार छौं. सिवानाका भोट मुलुकले अर्घेली गर्‍याको ता सहनसकन्या छैन. आफूहरूबाट गोर्खा भोट दुवै बरोबर देखिनु पर्छ यो चिठी भन्दा अघी लेखिगयाका पत्रको उत्तर लेखि आया पछि भोटसँग चित्त नबुझ्याको सवै लेखि पठाउन्या काम गरौंला.

१९११ साल मिति मार्ग वदि ५ रोज ५ शुभम् ...

तस्तै बखतमा पुराना ताक्लाखारबाट ताम्सेजमादारले लेख्याको चिठिको तर्जुमा 

उप्रान्त अघि तिमिले लेख्याको चिठिमा जेष्ठ मैन्हामा थितिबन्दोबस्त दोसाधमा गरौंला जमादारलाई नून अलिक चाहियो नून पठाइदेउ रुपैयाँ पठाउला भनि लेख्नु भयाको यस पटक हामी ढेवाले नून पाथि ६ मुरि हुलाकमा पठायाको छ. आइपुग्ला रुपैयाँ पनि पठाईदेउ. आफु जमादारबाट मेहेरमानगी ताहातरफका वेपारि सबै पठाइदेउ. वाहाको वेपारी पनि पठाईदिउँला वेपारमा जानु पायेन भन्या दुई तर्फका प्रजा सबै बराबर हुंन्छ बन्दोबस्त पछी गरौंला. राजाका दैदस्तुर अघीका रितबमोजिम लिनुदिनु गरुला. सरासर देउ भनी उर्दिदीनु होला.

११ साल मार्गवदी ५ रोज ५ शुभम् ....

श्री प्राइममिनिष्टरका हजुरमा किर्तिबहादुरले चह्राइ पठायाको 

उप्रान्त महाकालीको मुल कालापानी भन्याको जग्गामा हाम्रा श्री ५ का सर्कारको अंग्रेजको भाट्याको सिवाना रहेछ कालापानीदेखि ४/५ कोसमा भोट्याको कोट भन्या जग्गा छ, निजकोटगाउँमा १ हजार बराबर बस्ती छ येस जग्गामा भोट्याको १ ढेवा बस्याको छ । कोट्को अम्बल १५/२० दिन हिड्न्या जग्गा छ. येस अम्बलमा नून खानी स्वाग खानी पनि छन्. ५०/६० हजार उठतिहुन्या आवादी जग्गा रहेछ दुनिञा पनि ढेरै दौलत भयाका छन् भनि ञाहाका कोटसम्म जान्या मानिसहरू ले भन्छन्. सेवानाका भोट्या पनि हामीतर्फ हुन्या छन्. कोटको जग्गा लीनालाई ४/५ सय नालबन्दि पल्टन भया लीन सहज सकन्याछन्. यो बखतमा हामीले देख्या सुन्याको कुरा जाहेर गर्नपर्छ भनि विंति चह्राई पठायाको हो.

११ साल मार्ग वदि ६ रोज ६ मुकाम वैतडि गडि शुभम्.

प्रतिकृया दिनुहोस