ब्लगबिहिबार, १९ भाद्र , २०७६

विश्वमै सबैभन्दा लामाे र विषालु किङ काेब्राबारे सरकार नै बेखबर

कमल मादेन

संरक्षण सूचीमा छैन लोपोन्मुख राज गोमन विश्वमै सबैभन्दा लामो र विषालु सर्प राज गोमन (किङ कोब्रा) बारे सामान्यजन मात्र होइन सरकार समेत बेखबर छ।

मीनकुमार आङ्ला, ज्ञानबहादुर हुक्पा चोङबाङ र नीलकण्ठ कुरुम्भङ २६ साउन, धरान उपमहानगरपालिका–२० कालीखोलातिर सिस्नो टिप्न गएका थिए ।

तर उनीहरूले अनौठो दृश्य देखे । त्यहाँ एउटा सर्पले झण्डै ६ फिट लामो अर्को सर्प निलिरहेको थियो । उनीहरूले तत्काल चिनजानका पत्रकार भैरव आङ्लालाई फोन गरे । आङ्लाले सर्प अध्ययन अनुसन्धानमा संलग्न जीवशास्त्री सह–प्राध्यापक कुलप्रसाद लिम्बूलाई र लिम्बूले मोरङमा कार्यरत सशस्त्र वन रक्षक तथा सर्प संरक्षण अभियन्ता प्रेम बिष्टलाई जानकारी गराए ।

बिष्ट तीन घण्टापछि कालीखोला पुग्दा सर्प ढुङ्गाको चेपमा लुकिरहेको थियो । मानिसको चहलपहलबाट डराएको सर्पले निलेको ६ फिट लामो धामन सर्प ओकल्यो । बिष्टले त्यो सर्पलाई समाए । उनका अनुसार, त्यो सर्प किङ कोब्रा थियो ।

किङ कोब्रालाई राज गोमन भनिन्छ । अफियोफ्गस हन्नाह वैज्ञानिक नाम भएको यो सर्प दक्षिण तथा दक्षिणपूर्व एशियाली देशहरूमा मात्र पाइन्छ । यसलाई विश्वकै सबैभन्दा लामो (१८ फिट) र बढी विष भएको सर्प मानिन्छ । किङ कोब्राले हम्मेसी मानिसलाई डस्दैन । कथं डसेमा मानिस मात्र होइन हात्ती पनि मारिन आवश्यक विषको मात्रा हुने बताइन्छ । नेपालमा किङ कोब्रा डसाइबाट मानिस मरेको अभिलेख अहिलेसम्म प्रकाशित भएको छैन ।    

नेपालमा किङ कोब्रा पाइन्छ भन्ने जानकारी सबैभन्दा पहिले चराविज्ञ आर.एल. फ्लेमिङ र आर.एल. फ्लेमिङ (जुनियर) ले सन् १९७४ मा गराएका थिए । कुलबहादुर थापा, निशा राणा र करणबहादुर शाह लिखित ‘डिष्ट्रिब्युसन अफ किङ कोब्रा इन् नेपाल’ (सन् २०१८) शीर्षक लेखमा यो सर्प प्रजाति सुनसरी लगायत ३७ जिल्लामा जम्मा २१९ पटक देखिएको भनी लेखिएको छ ।

समुद्री सतहबाट २ हजार ५५० मिटर उँचाइसम्म पाइने यो सर्पको नमूना धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा संग्रहित छ । विश्व संरक्षण संघ (आईयूसीएन) अभिलेख अनुसार यो सर्प विश्वकै निम्ति लोपोन्मुख सरीसृप प्रजाति हो ।

तस्वीर : कुलप्रसाद लिम्बु

भ्रमको जोखिम

चैत २०७२ मा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटको एउटा घरमा ठूलो सर्प पस्यो । स्थानीयले पहिल्यैदेखि सर्प खेलाउने ४६ वर्षे कृष्णकमल फुयाँललाई जानकारी गराए । फुयाँलले त्यो सर्प सजिलै समाएर बजारतिर डुलाउन लगे ।

मनोहरा नपा–३ स्थित आदर्श माविका विज्ञान शिक्षक डम्बरुप्रसाद पोखरेलका अनुसार, फुयाँलले बजारमा ठूलो सर्प खेलाएको देखाउँदै केही पैसा बटुले । र, करीब १२ बजेतिर सुन्दरीजलतिर लागे । ४ बजेतिर उनलाई बेहोश अवस्थामा भेटियो । र, गोकर्णस्थित नेपाल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो । उनको नाडी र हत्केलामा सर्पले डसेको चिह्न प्रष्ट देखिन्थ्यो । त्यो डसाइ किङ कोब्राको थियो ।

त्यसवेला फुयाँलले उक्त सर्पलाई खेलाउँदै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसमा उनले काठमाडौंमा विषालु प्रजातिका सर्प नपाइने भनिरहेका छन् । डम्बरुप्रसाद पोखरेलले पंक्तिकारलाई उपलब्ध गराएको ४१ सेकेण्ड लामो उक्त भिडियोमा फुयाँलले करीब १२ फिट लामो किङ कोब्रा घाँटीमा बेरेको देखिन्छ ।

दक्षिणएशियाली सरीसृप विज्ञ रोमुलस विट्टेकरका अनुसार, किङ कोब्रालाई ज्यादै दुःख दिए, कुल्चिए मात्र डस्छ । गोमन, करेत जस्ता विषालु सर्प खाने गरेकाले मानिसका निम्ति यो सर्प हितकर नै मानिन्छ । 

पंक्तिकारको जिज्ञासामा विट्टेकरले बताए अनुसार दक्षिणएशियामै किङ कोब्राबाट मानिस मरेको अभिलेख एकाध मात्रै छ ।

नेपालभित्रको अध्ययन

‘स्टेटस एण्ड डिष्ट्रिब्युसन अफ किङ कोब्रा इन साउर्दन अन्नपूर्ण कन्जरभेसन एरिया, नेपाल’ शीर्षकमा ऋषि बराल, शैलेन्द्रकुमार यादव, रामजी गौतम, महेन्द्रप्रसाद कतिला, राजकुमार गुरुङ, अशोक सुवेदी र विनोद बस्नेतको महत्वपूर्ण आलेख सन् २०१८ को ‘द हिमालयन नेचरलिष्ट’ जर्नलमा छापिएको छ । लेखकमध्येका पोखराका महेन्द्रप्रसाद कतिला मोरङका प्रेम बिष्ट जस्तै सर्प संरक्षण अभियन्ता हुन् । उनी किङ कोब्राप्रति विशेष रुचि राख्छन् ।

लेखका अनुसार, सन् २०१६ देखि २०१८ सम्म अन्नपूर्ण संरक्षण क्षेत्रको दक्षिणी भेगमा किङ कोब्राको अध्ययन गरिएको थियो । अध्ययनमा सर्पको गुँड क्यामेरा ट्र्यापबाट निगरानी गरिएको थियो । यस्तो अनुसन्धान नेपालमा पहिलो पटक गरिएको थियो ।

करणबहादुर शाहको एक लेखमा किङ कोब्राले जनवरी र मार्चमा संसर्ग गर्ने लेखिएको थियो । तर, कास्की र लमजुङमा भने मेमा पनि संसर्ग भएको पाइएको छ । किङ कोब्राको संसर्ग करीब तीन घन्टासम्म चल्ने र संसर्गको करीब ४० दिनपछि पोथी सर्पले दर्जनौं संख्यामा अण्डा पार्दछ ।

सशस्त्र वन रक्षक तथा सर्प संरक्षण अभियन्ता प्रेम बिष्ट ।

किङ कोब्राले अण्डा ओथार्न गुँड बनाउँछ । लेखका अनुसार, ४० डिग्री भिरालो ठाउँमा सल्ला, उन्यू र कटुस आदिका सुकेका पातबाट गुँड बनाइएको थियो । गुँडबाट करीब ५० मिटर जति टाढा पानी थियो । गुँडमा जम्मा २५ वटा अण्डा थिए । तीमध्ये २३ वटा अण्डाबाट बचेरा निस्केका थिए ।

पोथी किङ कोब्राले अक्सर अण्डालाई पातले छोप्ने वा आफैं गुँडमाथि गुडुल्किएर त कहिले, पातको चाङभित्र बस्छ । यसर्थ, अन्डा पारेदेखि बच्चा निस्कँदासम्म पोथी किङ कोब्रा निराहार हुन्छ भन्ने लेखिएको छ । त्यस अवधिमा पोथी किङ कोब्रा बढी आक्रामक हुन्छ ।

दुर्लभ तर संरक्षण सूची बाहिर

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची–१ मा तीन प्रजातिका सरीसृप (रेप्टायल्स) अजिङ्गर, घडियाल र सुन गोहोरोलाई संरक्षित वन्यजन्तु मानिएको छ ।

किङ कोब्राको डसाइबाट मृत्यु भएका कृष्णकमल फुयाँल ।

तर, तराईमा प्रशस्त पाइने सुन गोहोरो होइन, किङ कोब्रालाई संरक्षित सूचीमा राख्नुपर्ने देखिन्छ । त्यसो गरिने हो भने कृष्णकमल फुयाँल जस्ताले किङ कोब्रा विषालु सर्प हो, होइन वेलैमा चिन्ने थिए, उनको ज्यान पनि जाने थिएन । तर, सरकार स्वयंले किङ कोब्रा जस्तो दुर्लभ वन्यजन्तु चिन्न नसक्नु विडम्बना हो । किङ कोब्रा चिनेर यसको महत्व र क्षतिबारे बढीभन्दा बढी जानकारी फैलाउनु सरकारको दायित्व हो ।

प्रतिकृया दिनुहोस