कला/साहित्यबुधबार, १८ भाद्र , २०७६

गायकहरुलाई लता मंगेशकरको सुझाव- अरुको नक्कल धेरै समय टिक्दैन

हिमालखबर

भारतमा पछिल्लो समय पश्चिम बंगालकी रानु मण्डल (६०) गायन मार्फत 'भाइरल' बनेकी छन्। पश्चिम बंगालको राणाघाट रेल्वे स्टेशनमा गीत गाएर गुजारा चलाइरहेकी उनी अहिले बलिउडमा परिचित भइसकेकी छन्।  

रानुको स्वरबाट प्रभावित भएर बलिउडका संगीतकर्मी हिमेश रेशमियाले उनलाई फिल्ममा गीत गाउन लगाइसकेका छन्। राणाघाट स्टेशनमा हुँदा उनले लता मंगेशकरको 'एक प्यार का नगमा हे' गीत गाएर ख्याति कमाएकी थिइन्।

हालै उनै लताले रानुको लोकप्रियताबारे टिप्पणी गरेकी छन्। उनले रानुको प्रशंसा गर्दै उनको सांगीतिक भविष्यबारे चिन्ता समेत जनाएकी छन्।

लता मंगेशकर र रानु मण्डल

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार लताले एक अन्तर्वार्ताका क्रममा आफ्नो नाम र कामबाट कसैको भलाइ हुँदा आफूलाई भाग्यमानी सम्झिएको बताएकी छन्। साथै, उनले रानुलाई सुझाव पनि दिएकी छन्।

उनले भनेकी छन्, "रानुले मेरो गीत गाएर प्रसिद्धि कमाउँदा मलाई खुशी लागेको छ, तर म के महसुस गर्छु भने कसैको नक्कल गर्नु सफलताका लागि टिकाउ साधन होइन। मेरो, किशोर दा (किशोर कुमार), मोहम्मद रफी र आशा भोसलेको गीत गाएर तपाईं केही समय मानिसहरुको ध्यान तान्न सक्नुहुन्छ। तर यो लामो समयसम्म चल्दैन।"

लताले रानुसँगै अन्य गायक-गायिकालाई पनि मौलिकताको खोजीमा लागेर आफ्नो पहिचान बनाउन सल्लाह दिएकी छन्। उनले भनिन्, "मेरो र अन्य गायक-गायिकाका सदाबहार गीतहरु व्यापक मात्रामा गाउने गरिन्छ। तर एक चरणपछि गायकले आफ्नो गीत आफैं खोज्नुपर्छ।"

यस प्रसंगमा उनले आफ्नो बहिनी आशा भोसलेको उदाहरण दिंदै भनिन्, "यदि आशाले आफ्नै शैलीमा गीत गाएकी हुन्थिनन् भने सधैं मेरो छायामा रहन्थिन्। यही उदाहरणले देखाउँछ, कुनै व्यक्तिको प्रतिभाले उसलाई कति टाढासम्म लैजान सक्छ।" - एजेन्सी

प्रतिकृया दिनुहोस