गगन थापाको प्रस्ताव– प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्, हामीले जस्तै गल्ती नगर्नुस् (पूर्णपाठ सहित)
बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले प्रधानमन्त्रीलाई विश्राम गर्ने अवस्था बनाइदिन नेकपासँग आग्रह गरेका छन् ।
देशका कार्यकारी व्यक्ति बिरामी अवस्थामा रहेकाले स्वास्थ्यका लागि अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन समेत उनले सुझाव दिए । थापाले सम्बोधन गरिरहँदा सांसदहरुले ध्यानपूर्वक र चासोका साथ सुनिरहे ।
सांसद थापाको सम्बोधनको पूर्णपाठ–
सभामुख महोदय,
सम्माननीय प्रधानमन्त्री अहिले उपचारका क्रममा यतिखेर सिंगापुरमा हुनुहुुन्छ । नेपाली कांग्रेस उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । हामीले अथक प्रयत्न गरेर संसदबाट एउटा कानून पारित गर्यौं ।
कुनै व्यक्तिले विदेशमा उपचार गराउनु परे सोको लागि लाग्ने खर्च सरकारले उपलब्ध गराउने छैन । कानूनको पालना गर्नुभएकोमा प्रधानमन्त्रीज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु । नागरिकहरुको यसप्रति चासोलाई प्रधानमन्त्री उपयुक्त बेला बताउनु नै हुनेछ भन्ने आशा राख्छु ।
सभामुख महोदय, प्रधानमन्त्रीको उपचारको बारेमा यथार्थ जानकारी सरकारले संसदलाई गराएको छैन । जनताले आफ्नो प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा जान्न पाउनुपर्छ ।
प्रधानमन्त्रीको निजी चिकित्सकलाई उदृत गरेर छापाहरुमा आएको सीमित सूचनाको आधारमा यो अनुमान लगाउन सकिन्छ– प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ । हामी चाहन्छौं, सम्पूर्ण सुधार होओस् ।
मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्रीको इच्छा शक्ति, तत्परता र योगदान संसारका लागि अनुकरणीय बनोस् । तर, केही चिकित्सकहरुले अनुमान गर्नुभएको जस्तो प्रधानमन्त्रीलाई पटक–पटक विदेशमा गएर केही समय विश्राम गरेर उपचार गर्नुपर्ने भयो भने चाहिं के गर्ने ?
संविधानको धारा ७५ अनुसार नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषदमा निहित छ र मन्त्रिपरिषदको प्रमुख प्रधानमन्त्री हुनुहुन्छ । संसदीय पद्धतिमा संसदको कामको सिर्जना पनि प्रधानमन्त्रीबाटै हुन्छ ।
प्रधानमन्त्री सेरेमोनियल पोजिसन होइन । डे टु डे जिम्मेवारी प्रधानमन्त्रीले निर्वाह गर्नुपर्छ । तर, पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यबोझ बढाइएको छ ।
हाम्रो प्रधानमन्त्रीले यी सवै कुरा गर्ने इच्छाशक्ति राख्नुहुन्छ भन्नेमा दुईमत छैन । तर, इच्छाशक्ति मात्रै सबै कुरा होइन, सभामुख महोदय ।
शारीरिक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ । कार्यकारी प्रमुख एकै पटक लामो समय विदेशमा बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कूटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न त छँदैछ । प्रत्येक दुई\तीन महीनामा १०/१२ दिन विदेशमा बसेर टेलिप्रेजेन्समार्फत् मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाउने शासकीय जिम्मेवारी पूरा हुन सक्दैन ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था भएको भए फेरि निर्वाचनमा जानुपर्ने अवस्था आउँछ भनेर कष्ट दिएर भएपनि प्रधानमन्त्रीको निरन्तरता दिने कुरा स्वाभाविक हुन्थ्यो । तर, यहाँ यस्तो अवस्था छैन, सभामुख महोदय ।
यहाँ नेपाल कम्युनिष्ट पार्टीको बहुमत छ । संसदले सजिलै प्रधानमन्त्री छान्न सक्छ । एकसे एक प्रधानमन्त्री हुनुभएका व्यक्ति यो पार्टीमा हुनुहुन्छ । प्रधानमन्त्री हुने इच्छा राख्ने व्यक्तिहरु हुनुहुन्छ । तर, यस्ता बेलामा हामी किन विश्राम दिन किन चाहिरहेका छैनौं ।
सम्माननीय सभामुख महोदय,
मैलै धेरै पटक नेपाल कम्युनिष्ट पार्टीका युवा साथीहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं ?
बा, धपेडी नगर्नुहोस् । बा आराम गर्नुहोस् । बा विश्राम लिनुहोस् । हामी हाम्रो बा यसो भन्छौं । अनि प्रधानमन्त्रीलाई किन भन्न सक्दैनौं ।
यो म कसैलाई मात्रै भनिरहेको छैन । यो गल्ती हिजो हामीले पनि गर्यौं । सभामुख महोदय, यो गल्ती हिजो हामीले पनि गर्यौं । यो अन्याय हिजो हामीले पनि गर्यौं ।
र सबैभन्दा नजिक बस्ने मान्छेले अन्याय गर्यो । यो अन्याय तपाईंहरु नगर्नुहोस् । यो गल्ती तपाईंहरु नदोहोर्याउनुहोस् । प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुहोस् ।
किनभने, नेपालको आन्दोलनमा यत्रो ठूलो योगदान पुर्याउनु भएको, नेपालको शान्ति प्रक्रियामा यत्रो ठूलो योगदान दिनुभएको, यत्रो ठूलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको अनि यति मात्रै होइन ।
सभामुख महोदय,
स्वाभिमानको लडाइँमा एउटा अथक योद्धाका रुपमा काम गर्नुभएको प्रधानमन्त्री हामी लामो समयसम्म हाम्रो बीचमा अभिभावकका रुपमा देख्न चाहन्छौं । तर, यो कुरा त्यतिखेर मात्रै संभव छ सभामुख महोदय,
शरीर सबैको शरीर हो । मन पनि सवैको मन हो । प्रधानमन्त्रीको मनको इच्छाशक्तिको म प्रशंसा गर्दछु । म फेरि पनि कामना गर्छु । सिंगापुरबाट फर्किएर आइसकेपछि यो रोष्टममा उभिएर हामीले बताइदिने अवस्था बनोस् । हामी सबै प्रार्थना र कामना गर्छाैं ।
यो कुरा सुन्दैगर्दा कतिलाई रिस पनि उठ्ला । तर यो कुनै व्यक्तिगत कुरा होइन, यो देशको कुरा पनि हो । देश भन्दा पहिले यो मानवीयताको कुरा पनि हो । हामी प्रधानमन्त्री एउटा मान्छे पनि हुनुहुन्छ भन्ने कुरा नबिर्सिऔं । धन्यवाद, जयनेपाल ।