गौहत्या होइन, दुर्घटना हाे: मेयर राणा
नेपालगञ्ज उपमहानरपालिकाका मेयर एवम् काञ्जीहाउसका अध्यक्ष धवल शमशेर राणाले सुर्खेतमा गौहत्या नभई दुर्घटना भएको प्रतिक्रिया दिएका छन् ।
नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतमा गाई मारिएको विषयमा पहिलो पटक मेयर राणाले पत्रकार सम्मेलन गरी गौहत्या नभई दुर्घटना भएको बताएका हुन् ।
उनले भने, “गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै यो दुर्घटना भएको हो, यो नियतवश घटाइएको घटना होइन ।”
आफूले नेपालगञ्जको छाडा गाईलगायत पशु चौपाया व्यवस्थापनका लागि बाँके राष्ट्रिय निकुञ्ज, जिल्ला वन डिभिजन कार्यालय, प्रदेश ५ का मुख्यमन्त्रीसँग छलफल गरे पनि सार्थक परिणाम हासिल हुन नसकेको नगर प्रमुख राणाले गुनासो गरे ।
“हामीले नेपालगञ्जका नागरिकहरुको सहयोग समेत लिएर गाई व्यवस्थापनमा काम गरेकै थियौँ, तर नगरपालिकाको एक्लो प्रयासले मात्र यो सम्भव नहुने रहेछ”, उनको भनाइ थियो ।
नगरप्रमुख राणाले बर्दियाको बाँसगढी नगरपालिका लगायतका स्थानीय तहले पहाडी जिल्लामा गाई पठाएको थाहा पाएपछि आफुहरुले पनि गाई दैलेख पठाएको बताए ।
“यो गौहत्या नभई दुर्घटना हो, गाई भिरबाट खसालेर मारेको भन्ने प्रचारमा कुनै सत्यता छैन, ट्रकभित्र गाई मरेपछि आत्तिएर सँगै गएका कर्मचारीले छाडेका रहेछन्”, उनले भने ।
छलफलमा सहभागी पत्रकारहरुले अल्पकालीन र दीर्घकालीन योजना बनाएर छाडा गाईलगायत पशु चौपायाको व्यवस्थापन र संरक्षण गर्नुपर्ने सुझाव दिए ।
छलफलमा भारतबाट नेपालगञ्ज धपाइएका पशु चौपाया रोक्नुपर्ने, गाई र अन्य पशुपालकहरुको पशुमा ट्याग लगाउने र यसरी ट्याग लगाएका पशु छाडा छाडिएमा दण्ड, जरीवाना गर्नुपर्ने, गौशाला निर्माण गरी छाडा गाईको व्यवस्थापन गर्नुपर्ने लगायतका सुझाव पनि दिए ।