टिप्पणीमंगलबार, १७ भाद्र , २०७६

किन गर्ने घर बीमा ?

हिमालखबर

–नवीन शर्मा पौडेल

सुविधायुक्त घर हरेक व्यक्तिको सपना हो । पछिल्लो समय ब्याङ्क तथा वित्तीय संस्थाबाट घर कर्जा प्राप्त हुन थालेपछि घर बनाउनेको संख्या पनि बढ्दो छ । तर, घर बनाउन लाखौं रुपैयाँ खर्च गर्नेहरूको चासोमा घरको बीमा पर्ने गरेको छैन । जुन जोखिमपूर्ण हुन सक्छ । किनकि केही हजार रुपैयाँ खर्च गर्दा लाखौं लगानी गरिएका घरमा कुनै कारणले क्षति भए बीमा कम्पनीले क्षतिपूर्ति दिन्छ ।

आवासीय भवन तथा त्यस भवनभित्र रहेका चल–अचल सम्पत्तिको भविष्यमा हुनसक्ने क्षति विरुद्ध गरिने आर्थिक सुरक्षाको उपाय तथा औजारलाई घर बीमा भनिन्छ । नेपालमा २०७५ पुसबाट व्यवस्थित रुपमा घर बीमा लागू गरिएको हो ।

यससँगै बीमा शुल्कमा एकरुपता आउनुका साथै विभिन्न जोखिम एउटै बीमालेखमा समेटिएको छ भने बीमा शुल्कको निश्चित दर पनि कायम भएको छ ।

यसअघि अग्नि बीमा मार्फत गरिने घरको बीमामा थोरै मात्र जोखिम बहन हुन्थ्यो र अन्य जोखिम बहन गराउन परे थप शुल्क भुक्तानी गर्नुपर्थ्याे, जसको निश्चित दर थिएन ।

घर बीमा निर्जीवन बीमा कम्पनीहरूले गर्दै आएका छन् । बीमा समितिबाट इजाजत पाएका २० वटा निर्जीवन बीमा कम्पनीका ८६९ वटा शाखाले देशभर घर बीमा सेवा प्रदान गरिरहेका छन् ।

बीमाबारे जनचेतनाको कमीका कारण नेपालमा यो अझै पनि ‘फोर्स सेलिङ’ का रुपमा छ । त्यसमा पनि घर बीमा त कानूनी बाध्यता भएका घरमा मात्र गर्ने चलन रहँदै आएको छ ।

घर बीमाले आगलागी, हावा तथा पानी, चट्याङ, पहिरो, भुइँचालो तथा विस्फोटनको कम्पन, जमीन भासिने, आकाशमा उड्ने वस्तु, सवारी साधन, जनावर, अन्य घर वा भौतिक संरचनाको धक्का, हुलदङ्गा, घर र वा घर परिसरमा भएको चोरी, लुटपाट आदि कारणले भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्छ ।

कति लाग्छ शुल्क ?

रु.१ हजार बराबर ५० पैसाका दरले रु.१ करोडसम्मका घरको बीमा शुल्क गणना गरिन्छ । त्यसमा १३ प्रतिशत थप मूल्य अभिवृद्धि कर लाग्ने गर्छ । जस अनुसार रु.१ करोड लागतको घरको बीमा गर्न वार्षिक रु.५ हजार ६७२ शुल्क बुझाउनुपर्छ ।

रु.१ करोड भन्दा बढीको घर भए प्रति हजारमा रु.१.५० का दरले शुल्क थपिने र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने गरिन्छ । जस अनुसार रु.२ करोडको घरको बीमा गर्न वार्षिक रु.३३ हजार ९२२ लाग्छ ।

घर बीमाले आगलागी, हावा तथा पानी, चट्याङ, पहिरो, भुइँचालो तथा विस्फोटनको कम्पन, जमीन भासिने, आकाशमा उड्ने वस्तु, सवारी साधन, जनावर, अन्य घर वा भौतिक संरचनाको धक्का, हुलदङ्गा, घर र वा घर परिसरमा भएको चोरी, लुटपाट आदि कारणले भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्छ ।

यो बीमाले क्षतिग्रस्त सम्पत्तिको भग्नावशेष विस्थापन गर्न लागेको खर्च र सर्वेक्षकको शुल्क समेत निश्चित मात्रामा भुक्तानी गर्छ । यसका अतिरिक्त बीमा गरिएको घरको परिसरभित्र दुर्घटना भएमा परिवारको बढीमा पाँच जनालाई बीमा गरिएको जोखिम स्वरुप प्रतिव्यक्ति रु.५ लाखसम्म क्षतिपूर्ति दिन्छ ।

क्षतिपूर्ति भुक्तानीको प्रक्रिया

बीमा गरिएको घरमा क्षति भएमा क्षतिको कारण र अवस्था हेरी बीमा समितिबाट इजाजतप्राप्त सर्वेक्षकको रिपोर्टको आधारमा बीमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ ।

बीमा क्षेत्रमा दाबी भुक्तानीमा ढिलाइ हुने समस्या पहिले धेरै थियो । पछिल्लो समय त्यो समस्या घट्दै गएको छ । बीमा कम्पनीहरूबीच शीघ्र दाबी भुक्तानी गर्ने प्रतिस्पर्धा चल्दा बीमाप्रति जनविश्वास बढ्दो छ ।

यो प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिएर बीमाका सबै पाटा बुझी आफ्नो घर तथा सम्पत्तिको बीमा गरेर ढुक्क हुन सकिन्छ ।

(पौडेल राष्ट्रिय बीमा कम्पनीका नेपालगञ्ज शाखा प्रमुख हुन् ।)

प्रतिकृया दिनुहोस