रिपोर्टमंगलबार, १७ भाद्र , २०७६

सिद्धबाबा सडकमा ‘सुरुङ सपना’

हिमालखबर

–बिक्रम खड्का

पाल्पा सदरमुकाम तानसेनबाट २१ भदौ २०५४ मा बुटवल हिंडेको बस दिउँसो ३ बजे दुर्घटनामा पर्‍याे । तल्लो सिद्धबाबा मन्दिरनजिकै सडकमा थुप्रिएको पहिरोमा चिप्लिएर बस २०० मिटर तल तिनाउ नदीमा खस्दा ३९ यात्रुमध्ये ३२ को मृत्यु भयो ।

तस्वीरहरु : बिक्रम खड्का

गुल्मीबाट बुटवल हिंडेको बस र बुटवलबाट तानसेन लागेको ट्रक ४ भदौ २०६२ बेलुकी ५ बजे तल्लो सिद्धबाबा मन्दिरनजिक जम्काभेट भए । पहिरोका कारण सडक साँघुरो भएकाले पार हुन सकेनन् । एकले अर्कोलाई साइड दिने प्रयास गर्दागर्दै माथिबाट झरेको पहिरोले दुवै सवारी साधन पुर्‍याे । ट्रकमा सवार दुई र बसका ९ गरी ११ यात्रुको मृत्यु भयो । ४५ जना घाइते भए ।

तानसेन–७ का माधव कुमाल (४०) र उनका छोरा उमेश (१९) ६ साउन २०७५ मा मोटरसाइकलबाट बुटवल जाँदै थिए । सिद्धबाबामा माथिबाट झरेको ढुङ्गा लागेर दुवैको घटनास्थलमा नै मृत्यु भयो ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड पहिरोका कारण जोखिमपूर्ण छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा सडकखण्डमा पछिल्लो सात वर्षमा ३८ दुर्घटना भए । जसमा ३१ जनाको ज्यान गएको छ, १२ घाइते भए ।

यो सडकखण्डमा दुर्घटनाबाट वर्षेनि तीन/चार जनाले ज्यान गुमाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको तथ्याङ्क छ । पानी पर्दा मात्र नभई घाम लाग्दा समेत पहिरो जाने सिद्धबाबा मन्दिर व्यवस्थापन समिति अध्यक्ष दलबहादुर गुरुङ बताउँछन् ।

बुटवल–पाल्पा सडक २०१८ सालदेखि खन्न शुरू भएको हो । २०२८ सालदेखि सवारी साधनको आवागमन हुन थाल्यो । अहिले दुईपाङ्ग्रे र चारपाङ्ग्रे गरी दैनिक दुई हजार हाराहारीमा सवारी साधन गुड्छन् । यो सडकखण्ड हुँदै सवारी साधन पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँची आवतजावत गर्छन् ।

सिद्धबाबा दर्शनका लागि गएको वर्ष ७० हजार भक्तजन आएका थिए । सिद्धबाबा क्षेत्रमा दुई मन्दिर छन् । बुटवलको चिडिया खोला नजिकै पर्ने तल्लो सिद्धबाबा र पाल्पाको दोभानमा पर्ने माथिल्लो सिद्धबाबा करीब ५०० मिटर दूरीमा पर्छन् । सिद्धबाबा मन्दिर विकास समिति अध्यक्ष गुरुङ यहाँ आउने भक्तजन पहिरोकै कारण जोखिममा पर्ने गरेको बताउँछन् ।

रकनेट कि सुरुङ ?

सिद्धबाबाको करीब तीन किलोमिटर सडक जोखिमपूर्ण छ । यो क्षेत्रमा साना–ठूला झण्डै १०० पहिरो छन् । कमजोर धरातल भएको चुरेका कारण धेरै पहिरो गएको भूगर्भविद् डा.रञ्जन दाहालको भनाइ छ ।

बुटवल–पाल्पा सडक २०१८ सालदेखि खन्न शुरू भएको हो । २०२८ सालदेखि सवारी साधनको आवागमन हुन थाल्यो । अहिले दुईपाङ्ग्रे र चारपाङ्ग्रे गरी दैनिक दुई हजार हाराहारीमा सवारी साधन गुड्छन् । यो सडकखण्ड हुँदै सवारी साधन पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँची आवतजावत गर्छन् ।

माथिबाट खस्ने पहिरो हटाउन र मर्मतसम्भारका लागि वार्षिक करीब ५० लाख बजेट आउने गरेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख केदार नेपालले बताए ।

उक्त रकमले चिडिया खोलादेखि राम्दीसम्म करीब ५८ किलोमिटर सडक मर्मत गर्नुपर्छ । त्यति रकम पर्याप्त नभएको नेपालको भनाइ छ ।

“त्यहाँ दुई/तीन वटा लोडर र डोजर तयारी अवस्थामा राख्नुपर्छ, तिनको इन्धन खर्च नै रु.२० लाखभन्दा बढी हुन्छ, इन्जिन मर्मतको छुट्टै खर्च छ” सडक डिभिजन प्रमुख नेपालले भने, “दुवैतिरबाट पहिरोले छेकेको अवस्थामा अन्य हेभी इक्विपमेन्ट भाडामा पनि लिनुपर्छ । अहिलेको बजेट पर्याप्त छैन ।”

पहिरो नियन्त्रणका लागि स्थायी समाधान नै खोज्नुपर्ने नेपाल बताउँछन् । पहिरो रोक्न जियोटेक सोलुसन्स् इन्टरनेशनल प्रालिले रकनेट मार्फत पहिरो रोक्न परीक्षण पनि गरेको थियो । पहाडमा जाली लगाएर ढुङ्गालाई त्यहीं अड्याउने प्रविधि रकनेट हो । जापानले बीपी राजमार्ग बनाउँदा विभिन्न ठाउँमा यही प्रविधि प्रयोग गरेको छ ।

सिद्धबाबामा गरेको परीक्षण पनि सफल भएको भूगर्भविद् दाहालले बताए । सिद्धबाबा क्षेत्र पर्ने पाल्पा–२ का सांसद सोमप्रसाद पाण्डे र प्रदेश सरकारलाई परीक्षण सफल भएको जानकारी दिए पनि लागू गर्न चासो नदिएको दाहालको दाबी छ ।

संस्थाले रु.६० लाखभन्दा बढी खर्च गरेर उक्त परीक्षण गरेको पनि उनले बताए । भोटेकोशी हाइड्रोपावरमाथिको पहाडमा पनि यो प्रविधि सफल भएको बताउँदै दाहाल भन्छन्, “करीब ७० करोड खर्च गरेर रकनेट प्रविधि अपनाए सिद्धबाबाको ९५ प्रतिशत समस्या समाधान हुन्छ ।”

तर, संघीय सरकारले सुरुङमार्ग बनाएर सिद्धबाबाको पहिरो छल्ने योजना अघि बढाएको छ । स्विट्जरल्याण्ड सरकारको सहयोगमा सुरुङमार्गको संभाव्यता अध्ययनपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि बनाइसकिएको छ ।

सरकारले नियुक्त गरेको परामर्शदाता कम्पनी इटेगोले डीपीआर तयार गरेको हो । सडक विभाग अन्तर्गतको वैदेशिक महाशाखाले त्यसको समन्वय गरेको थियो । सुरुङमार्ग बनाउने स्थलको २३ जेठ २०७५ मा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले स्थलगत अवलोकन पनि गरेका थिए ।

डीपीआर अनुसार सुरुङमार्ग बनाउन रु.९ नौ अर्ब लाग्नेछ । तर सरकारले डीपीआर स्वीकृत भने गरिसकेको छैन । योजना अनुसार सिद्धबाबादेखि दोभानसम्म ११०० मिटर सुरुङमार्ग बन्नेछ । सुरुङमार्गसम्म पुग्ने साढे दुई किलोमिटर सडक स्तरोन्नति गर्नुपर्नेछ ।

डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख केदार नेपाल रकनेट अस्थायी हुने तर, सुरुङ स्थायी विकल्प भएको बताउँछन् । सांसद सोमप्रसाद पाण्डे पनि अब सुरुङमार्गको विकल्प नसोचिने जिकिर गर्छन् ।

त्यसो त विभिन्न छलफलका क्रममा विज्ञहरूले रकनेट र सुरुङमार्ग बाहेक पहाडमा बेन्चकट प्रविधि अपनाउने, हाफ टनेल निर्माण गर्ने, तिनाउ नदीमाथि पुल बनाएर सडकमार्ग नै परिवर्तन गर्ने विकल्प पनि दिएका थिए । अन्य विकल्पबारे छलफल समेत अगाडि बढेको छैन ।

चुनावी मुद्दामै सीमित

प्रतिनिधिसभाको गत निर्वाचनमा पाल्पा–२ बाट विजयी सोमप्रसाद पाण्डेले चुनावी घोषणापत्रको पहिलो बुँदामै सिद्धार्थ राजमार्गलाई जोखिममुक्त बनाउने उल्लेख गरेका थिए ।

उनले घोषणापत्रमा ‘डेडिकेटेड टु लेन’ सडक तत्काल बनाउने बाचा पनि गरेका थिए । तर, दुई वर्ष बितिसक्दा पनि उनले प्रतिबद्धता गरे जस्तो सडक बनाउन थालिएको छैन । पाल्पा बाहेक रूपन्देही र गुल्मीका नेताले पनि यो सडकखण्डको समस्यालाई चुनावी मुद्दा बनाउने गरेका छन् ।

विष्णु पौडेल अर्थमन्त्री हुँदा उनले सिद्धबाबा सडक खण्डको वैकल्पिक मार्ग बनाउने बताएका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले गत निर्वाचनमा रूपन्देहीका विभिन्न सभालाई सम्बोधन गर्ने क्रममा सिद्धबाबा सडकको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

अर्थमन्त्री युवराज खतिवडाले पनि सिद्धबाबामा सुरुङमार्ग बनाउन रु.५० करोड छुट्याएका छन् । सुरुङमार्ग बनाउन आर्थिक वर्ष २०७०/७१ मा पहिलोपटक बजेट छुट्याइएको थियो ।

खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा तत्कालीन अर्थमन्त्री शङ्कर कोइरालाले सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न बजेट छुट्याएका थिए । गत वर्षको बजेटमा पनि रकम छुट्याइएको थियो । तर, काम अघि भने बढेको छैन ।

डीपीआर बनिसकेकाले यो वर्षबाट काम शुरू हुने सांसद सोमप्रसाद पाण्डेको दाबी छ । “मैले ९ भदौमा विभागीय मन्त्री र सचिवलाई भेटेर सुरुङमार्गका लागि टेण्डर आह्वान गर्न भनेको छु । अहिले पैसाका लागि चिन्ता गर्ने अवस्था छैन”, उनले भने ।

डीपीआर अनुसार सुरुङमार्ग बनाउन रु.९ नौ अर्ब लाग्नेछ । तर सरकारले डीपीआर स्वीकृत भने गरिसकेको छैन । योजना अनुसार सिद्धबाबादेखि दोभानसम्म ११०० मिटर सुरुङमार्ग बन्नेछ । सुरुङमार्गसम्म पुग्ने साढे दुई किलोमिटर सडक स्तरोन्नति गर्नुपर्नेछ ।

वैकल्पिक मार्ग

संघले सुरुङमार्ग बनाउने तयारी गरिरहँदा प्रदेश र स्थानीय सरकार वैकल्पिक सडकको ट्रयाक खन्न थालेका छन् । सुरुङमार्ग बनाउन प्रदेश र स्थानीयको क्षमताले नभ्याउने हुँदा वैकल्पिक मार्ग बनाउने विकल्पमा लागेको प्रदेश सांसद तुलबहादुर घर्तीले बताए ।

स्थानीय तिनाउ गाउँपालिकाको नेतृत्वमा गएको वर्ष करीब रु.९० लाखमा वैकल्पिक सडकको ट्र्याक खुलेको छ । जसका लागि तानसेन नगरपालिका, रिब्दीकोट र बगनासकाली गाउँपालिकाले पनि सहयोग गरेका छन् । १६ किमी लामो यो रूपन्देहीको चरङ्गे मुडाबासबाट चौकी भञ्ज्याङ, ज्यामिरे हुँदै पाल्पाको झुम्सा पुग्छ ।

पाल्पाको झुम्सादेखि चौकी भञ्ज्याङसम्मको सडक चालु छ । रूपन्देहीतर्फ चौकी भञ्ज्याङदेखि मुडाबास सडक विस्तार हुनसकेको छैन । यो सडकका लागि प्रदेश सरकारले रु.१० करोड बजेट छुट्याएको छ ।

यसैगरी बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिका जोड्ने अर्को २२ किमी लामो ट्र्याक पनि खोलिएको छ । यो सडक तिनाउको नुवाकोटबाट सिद्धार्थ राजमार्गमै जोडिन्छ ।

यसैगरी पाल्पाको बाँसटारीबाट गोठादी हुँदै खैरेनी जोड्ने सडकलाई पनि वैकल्पिक मार्ग मानिएको छ । ६१ किमी लामो यो सडकको पनि ट्र्याक खोलिंदै छ ।

प्रतिकृया दिनुहोस