अमेरिकामा ढिंडो र लोकल कुखुराको स्वाद
- ङिमा पाख्रिन
क्यालिफोर्नियाको सन्नीभेलमा निम गुरुङ फुड–ट्रकभित्र कोदोको ढिंडो मस्काउँदै छन्। ढिंडो मस्काउनु अघि उनले रायोको साग, गोलभेडाको अचार, पर्परी भुटेको तिते करेला र लोकल कुखुराको मासुको झोल तयार पारिसकेका रहेछन्।
नजिकैको मेचमा नेपाली ग्राहक भरिए। अमेरिकी भूमिमा ढिंडो, नेपाली स्वादका तरकारी र अचार देखेपछि कुन नेपालीको मुख नरसाउला ? उनीहरूले ढिंडो अर्डर गरिहाले।
एकैछिनमा निमले ढिंडो पस्किएर टेबलमा ल्याए। खाँट्टी नेपाली स्वादको मिठास ग्राहकहरुले औंला चाटीचाटी लिए।
उनको फुड–ट्रकको परिकार खान आउने नेपालीहरु मात्र छैनन्, भारतीय, अमेरिकी र अन्य देशका नागरिक पनि झुम्मिरहेका हुन्छन्। नेपाली स्वाद पस्किरहेका उनले परिकारबाटै नेपाल चिनाइरहेका छन्।
सिन्धुपाल्चोक पेट्कुका निम डीभी परेपछि झण्डै दुई दशक अघि अमेरिका आएका हुन्। पछिल्लो पटक कोलोराडोबाट क्यालिफोर्निया सरेका उनले आए लगत्तै शुरुमा रेष्टुरेन्ट व्यवसाय शुरू गरे । तर त्यतिमै उनको मन रमाएन। “व्यवसाय अलि फरक ढंगले गर्ने सोच अनुसार चार महीनायता फुड–ट्रक सञ्चालन गरिरहेको छु”, उनी भन्छन् । उनले पाँच जनालाई रोजगारी दिएका छन्।
पहिले निमसहितको टोलीले हिमालयन किचेन नामक रेष्टुरेन्ट चलाएका थिए। रेस्टुरेन्टमा ग्राहकले पर्खिनुपर्ने झन्झट भएकोले हतारोलाई ध्यान दिंदै फुड–ट्रक खोलेको उनको भनाइ छ।
“सबै हतारमा हुन्छन्, यहाँ खाना छिटो पस्कनुपर्ने हुन्छ”, उनी भन्छन् । फुड–ट्रकतिर मानिसहरू आकर्षित हुन थालेको उनको अनुभव छ।
उनको भान्छामा निक्खर नेपाली स्वादमा ढिँडो पाइए पनि धेरै बिक्री हुने चाहिँ झोल मःमः र चाउमिन रहेछ।
परिकार बनाउने र खुवाउने काममा निम बिहान ११ बजेदेखि राति १० बजेसम्म व्यस्त हुन्छन्। राम्रो माग भएकाले व्यवसाय विस्तार गर्ने उनको तयारी छ । “यस्तै फुड–ट्रकको माग अरु ठाउँमा पनि छ। केही ट्रक थप्ने योजना बनाएको छु”, उनी भन्छन्। खानाका पारखीलाई आकर्षण गर्न स्वादसँगै खानाको स्वच्छता र सरसफाइलाई उनले न्यूनतम शर्त बनाएका छन्।
ग्राहकको सन्तुष्टिलाई नै आफ्नो सन्तुष्टि मान्छन् निम। भन्छन्, “नेपालीहरुले धेरै मन पराइदिनुभएको छ। उहाँहरु सन्तुष्ट भएरै होला, पटक पटक आउनुहुन्छ।”
अमेरिकामा नेपाली खाना र स्वादको प्रवद्र्धन गरेर राम्रै पैसा पनि कमाइरहेका निमको मन भने नेपाल नै पुगिरहेको हुन्छ। त्यसैले केही वर्षपछि नेपाल नै फर्कने सोच बनाएका छन्। नेपालमा छँदा पनि केही समय रेष्टुरेन्ट चलाएका र पर्यटन व्यवसायमा आबद्ध रहेका उनलाई ती दिन आँखामा झलझली आउँछन्। भन्छन्, “केही वर्षमा नेपाल फर्कन्छु र पर्यटन व्यवसायमै लाग्छु।”