उपनिर्वाचनका लागि दल दर्ता आह्वान
निर्वाचन आयोग नेपालले आगामी १४ मंसीरमा हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।
आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्म तोकिएको छ ।
२०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भाग लिएका दलहरुले उपनिर्वाचनका लागि दल दर्ता गर्नुपर्ने छैन तर, २०७४ सालको निर्वाचनपछि एकीकरण भई नयाँ नाम कायम भएका र नयाँ दर्ता भएका दलले भने उपनिर्वाचन प्रयोजनका लागि अनिवार्यरुपमा दल दर्ता गराउन पर्नेछ ।
आगामी १४ मंसीरमा प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिकाको प्रमुख एक, गाउँपालिकाको अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४२ गरी ५१ पदका लागि उपनिर्वाचन हुँदैछ ।