एटीएम ह्याक प्रकरणमा संलग्न मनि एक्सचेञ्ज सेन्टरका सञ्चालकसहित चार पक्राउ
प्रहरी परिसर काठमाडौंबाट खटेको टोलीले १६ भदौमा एटीएम ठगीमा संलग्न भएको अभियोगमा मनि एक्सचेञ्ज सेन्टरका सञ्चालकसहित चार जनालाई पक्राउ गरेको छ ।
१४ भदौंमा हात्तिसारको होटल माया मनोहरबाट फरार भएका तीन जना विदेशी एटीएम ह्याकरहरूले ठमेलस्थित डेक्सो मनि एक्सचेन्ज सेन्टरमार्फत रु. २९ लाख ९९ हजार नेपाली रुपैंयाँ साटेर २५ हजार ८५६ अमेरिकी डलर लिएका थिए ।
उनीहरुलाई गैरकानुनी रुपमा मुद्रा सटही गरेको आरोपमा प्रहरीले डेक्सो मनि एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनि एक्सचेञ्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पक्राउ गरेको हो ।
गैर कानुनी रुपमा सटही गरेको रु. २९ लाख ९९ हजार मुद्रासहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।
उनीहरुलाई प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान भइरहेको छ ।
यसअघि प्रहरीले १५ भदौमा एटीएम ह्याकिङमा संलग्न फरार तीनमध्ये एक चिनियाँमूलक फ्रेन्च नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।
उनीमाथि अनुसन्धान गर्ने क्रममा अन्य फरार व्यक्तिहरुले ठमेलका विभिन्न स्थानमा सञ्चालित मनि एक्सचेञ्जबाट मुद्रा सटही गरेको खुलेको हो ।
ब्यांक एटीएम ह्याकिङको आरोपमा प्रहरी परिसर काठमाडौंले पछिल्लो पटक १४ भदौमा काठमाडौंका विभिन्न स्थानबाट पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।