चिनियाँ राष्ट्रपति सीको भारत भ्रमण तय, के उनी नेपाल पनि आउलान् ?
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज २४–२६ मा भारत भ्रमणमा जाने निश्चित भएको भारतीय मिडियाहरुले लेखेका छन्।
भारतीय पत्रिका द हिन्दुको अनलाइन संस्करणले तमिलनाडुको ममलापुरममा चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट हुने उल्लेख गरेको छ । सन् २०१८ को अप्रिलमा दुई नेताबीच चीनको उहानमा वार्ता भएको थियो । त्यसकै निरन्तरतास्वरुप दोस्रो चरणको वार्ताका लागि सी भारत जान लागेका हुन्।
यसअघि मोदी–सी बीच भारतको बनारसमा भेटवार्ता हुने चर्चा भएपनि सुरक्षाको कारण वार्तास्थल तमिलनाडु सारिएको बताइएको छ।
चिनियाँ राष्ट्रपति भारत भ्रमणको दौरानमा नेपाल समेत आउने अनुमान गरिएको छ । तर, सरकारी अधिकारीहरुले भने यसबारेमा औपचारिक जानकारी दिएका छैनन् । तर, भदौको अन्तिम साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्न लाग्नुलाई सीको भ्रमणको तयारीका रुपमा अथ्र्याइएको छ ।
सन् १९९६ मा च्याङ चमिनले नेपाल भ्रमण गरेयता कुनै पनि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आएका छैनन् । सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वन च्यापाओ केही घण्टाका लागि नेपाल आएका थिए । चिनियाँ राष्ट्रपति सी दक्षिण एशियाका भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेशको भ्रमणमा गइसकेपनि नेपाल आएका छैनन् । सन् २०१६ को अक्टोबरमा भारतको गोवामा भएको ब्रिक्स राष्ट्रहरुको सम्मेलनको दौरान पनि राष्ट्रपति सी नेपाल भ्रमणमा आउने चर्चा चलेपनि उनी आएनन्।