'जम्मु-कश्मीरमा अगस्टसम्ममा १३९ आतंकवादीको मृत्यु'
भारतीय रक्षा अधिकारीहरुले यस वर्षको आठ महीनामा जम्मु-कश्मीरमा भारतीय सेनाबाट १३९ आतंकवादी मारिएको बताएका छन्।
यो संख्या पाकिस्तान प्रशासित कश्मीरसँगको नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) का साथै जम्मु-कश्मीरको भित्री इलाकामा सेनासँग भएका भिडन्तहरुमा मारिएका आतंकवादीको संख्या पनि समेटिएको अधिकारीहरुले उल्लेख गरेका छन्।
अगस्टमा मात्रै २७ आतंकवादीलाई मारेको अधिकारीहरुको भनाइ छ।
एक वरिष्ठ सैन्य अधिकारीका अनुसार, अगस्टमा सेनाले पाँच आतंकवादीलाई मारेका थिए भने एकलाई नियन्त्रणमा लिएका थिए।
यो आठ महीनाको अवधिमा यस क्षेत्रमा आतंकवाद सम्बन्धी अभियानमा भारतीय सुरक्षाकर्मीका २६ जवान शहीद भएको जनाइएको छ।
भारतले जम्मु-कश्मीरलाई विशेष राज्यको दर्जा दिने गरी संविधानमा राखेको धारा ३७० गत ५ अगस्ट (२० साउन) मा खारेज गरेपछि त्यस क्षेत्रमा सुरक्षा संवेदनशीलता बढेको छ। विशेषाधिकार समाप्त गरी केन्द्रशासित प्रान्तमा परिणत गर्ने क्रममा त्यस क्षेत्रमा सम्पूर्ण सञ्चार सुविधा बन्द गरी कर्फ्यु जारी गरिएको थियो।
जम्मु-कश्मीरमा केन्द्र सरकारले नियन्त्रण खुकुलो पार्दै लैजाने नीति लिए पनि कश्मीरीहरुमा आक्रोश, भय र अविश्वास मत्थर हुन सकेको छैन। सुरक्षाबलबाट कुटपिट र यातना खेप्नुपरेको उनीहरुको आरोप छ। -एजेन्सी