कला/साहित्यसोमबार, १६ भाद्र , २०७६

फ्यानको यो हदको प्रेम, अभिनेता भेट्न ९०० किमी पैदल

हिमालखबर

सेलिब्रिटीप्रति प्रशंसकको रुचि र समर्पणको कुनै सीमा हुँदैन। सार्वजनिक क्षेत्रमा रहेका व्यक्ति मन परेपछि प्रशंसक यति एकोहोरिन्छ, ऊ आफूलाई भन्दा बढ्ता ध्यान सेलिब्रिटीमै दिन्छ। एउटा यस्तै प्रशंसक बलिउड अभिनेता अक्षय कुमारले पाएका छन्।

अक्षयलाई भेट्न ९०० किलोमिटर पैदल यात्रा गर्दै उनले प्रिय कलाकारका लागि जतिसुकै कष्ट उठाउने समर्पणको उदाहरण प्रस्तुत गरेका छन्।

ती युवा हुन्, भारतको गुजरातको शहर द्वारका निवासी परबत। उनी १८ दिनको अवधिमा ९०० किलोमिटर हिंडेर मुम्बई पुगेका थिए। अक्षयले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एउटा भिडियो राखेका छन्, जसमा उनले ती प्रशंसकसँग कुराकानी गरेका छन्। परबतले आफू कसरी गुजरातबाट १८ दिनमा पैदल मुम्बई आएँ भन्ने उल्लेख गरेका छन्।

भिडियोमा अक्षयले परबतको पैदल यात्रालाई युवाको लक्ष्य र गन्तव्यसँग जोडेर व्याख्या गरेका छन्। "यदि युवाहरुले आफ्नो उद्देश्य हासिल गर्न यस्तो प्रकारको योजना र दृढ निश्चयको परिचय दिए कुनै चिजले रोक्न सक्दैन", उनले भनेका छन्।

अक्षयले आफ्ना यी प्रशंसकसँगको सेल्फी पनि इन्स्टाग्राममा पोस्ट गरेका छन्। जसमा उनले प्रशंसकसँग भेट्दा राम्रो लाग्ने र तमाम प्रशंसकहरुबाट पाउने मायाका लागि आभार व्यक्त गर्दै लेखेका छन्, "तर म तपाईंहरुलाई आग्रह गर्छु, कृपापूर्वक यसरी पैदल हिंडेर भेट्न आउने जस्तो काम कहिल्यै नगर्नुस्। आफ्नो समय, शक्ति र स्रोत-साधनको उपयोग आफ्नो जिन्दगीको राम्रोका लागि गर्नुस्। यसबाट मलाई बढी खुशी मिल्नेछ।"  

अक्षय कुमार यतिबेला गत १५ अगस्टदेखि प्रदर्शनमा आएको फिल्म 'मिशन मंगल' को सफलताको खुशी मनाइरहेका छन्। फिल्मलाई समीक्षकका साथै दर्शकले पनि रुचाएका छन्। -एजेन्सी 

प्रतिकृया दिनुहोस