बाँदर खेद्ने र भुस्याहा कुकुर मार्ने अभियानमा मेयरको विरोध
खोटाङको दिक्तेल–रुपाकोटमझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल भुस्या कुकुर मार्ने अभियान चलाएकोमा आलोचित बनेका छन् ।
सदरमुकाम समेत रहेको दिक्तेलमा भुस्याहा कुकुर मार्ने अभियान चलाएपछि उनी आलोचित बनेका हुन् ।
विपक्षी दल र अधिकारवादी संस्थाहरुले मेयरको अभियानको विरोध जनाएका छन् । भुस्याहा कुकुरले दु:ख दिएको भन्दै नगरपालिकाकै पहलमा मार्ने अभियान चलाएको छ ।
तर, मेयर रिजालले भने मार्ने नभई पक्रेर व्यवस्थित गर्न लागिएको बताए । उनले भने, “पक्रने क्रममा कसैले मारेको हो भने यसबारे बुझ्छु र कार्बाही चलाउँछु ।” कुकुर मारिरहेको भिडियो सामाजिक सञ्जालमा आएपछि उनको विरोध भइरहेको छ ।
यसअघि किसानहरुलाई दु:ख दिएको भन्दै बाँदर धपाउने अभियानमा पनि मेयर रिजाल आलोचित भएका थिए । गाउँगाउँबाट बाँदर समातेर वन्यजन्तु आरक्षमा पठाउने अभियान मेयर रिजालले चलाएका थिए ।