गाई भीरबाट मारेपछि प्रहरी निरीक्षक नै फरार, सात जनामाथि छानबिन हुँदै
सुर्खेतको धुलियाबिट र कटकुवा भीरबाट खसालेर ३५ गाईगोरु मरेको अभियोगमा सुर्खेत प्रहरीले सात जनामाथि ‘गोवध’ मुद्दाका लागि छानबिन गरिरहेको छ ।
बिहीबार राति साढे १२ तिर नेपालगञ्जबाट दैलेख लैगिदै गरेको गाईगोरु भीरबाट खसालेको आरोपमा सात जना ट्रकका चालक र सहचालकमाथि प्रहरीले छानबिन गरिरहेको छ ।
गाई भीरबाट खसालेर फर्कने क्रममा पक्राउ परेका ट्रक चालकहरु शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालकहरु अमृत चौधरी र कृष्णबहादुर बिसीमाथि छानबिन गरिरहेको हो ।
नेपालगञ्ज महानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको भैरवी गाउँपालिका–१ स्थित श्रीस्थान लैजाने भन्दै ल्याएको गाईगोरु कटकुवा भीरबाट खसालिएको जनाइएको छ । प्रहरीले फरार तीन वटा ट्रकका चालक र सहचालकलाई खोजी गरिरहेको जनाएको छ ।
यस्तै, नेपालगञ्ज महानगरपालिका अन्तरगतका प्रहरी निरीक्षक सूर्य बोगटीलाई समेत प्रहरीले खोजिरहेको जनाएको छ । यो प्रकरणको छानबिन गर्न कर्णाली प्रदेश सरकार र नेपालगञ्ज उपमहानगरपालिकाले समेत समिति गठन गरेको छ । प्रहरी उपरीक्षक भोला रावलको नेतृत्वमा कर्णाली प्रदेश प्रहरीले पनि छानबिन गरिरहेको छ ।
पुश ढुवानी मापदण्ड–२०६४ अनुसार पशु ओसारप्रसार गर्दा आवश्यक पशुस्वास्थ्य चाँज, लैजाने र दिनेको स्वीकृति लगायत पालना नभएको भन्दै प्रहरीले विभिन्न मुद्दामा छानबिन गरिरहेको छ ।