डेढ सय गरीब किसानबाट करोड असुल्ने परदेशी पक्राउ
डेढ सय बढी गरीब किसानबाट करोड अशुल्ने सर्लाहीको मलंगवा–१० का श्यामकृष्ण कलवार (श्याम परदेशी) पक्राउ परेका छन् ।
मिटर ब्याजबाट १५० बढी किसानबाट एक करोड बढी अशुलिसकेका परदेशीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।
अर्थशास्त्रमा स्नातकोत्तर गरेका परदेशी गरीब किसानलाई ऋण दिने र मिटर ब्याज उठाउने गर्दै आएका थिए ।
मंलगवाबाट पीडितहरु काठमाडौं आएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर आफूहरु ठगिएको गुनासो गरेका थिए ।
अध्यक्ष दाहाल र गृहमन्त्री थापालाई गुनासो सुनाउने पीडितहरु आएपछि परदेशी समातिएका हुन् ।
परदेशीले मिटर ब्याजबाट एक करोड ९ लाख बढी अशुलिसकेका छन् भने अझैं सात करोड उठ्न बाँकी रहेको दावी गरेका छन् । सावाँ ब्याजका लागि परदेशीले पीडितहरुलाई धम्क्याउने, प्रहरीसँग उजुरी गरिदिने र यौन शोषणको प्रयास समेत गर्ने गरेको आरोप लगाइएको छ ।