अटो रिक्साबाट लडेर सारंगीवाद नेपालीको मृत्यु
वीरेन्द्रनगरका सडकपेटीमा सारङ्गी बजाएर विरहका गीत गाउने कलाकार मैतुराम नेपालीको मृत्यु भएको छ ।
वीरेन्द्रनगर धारापानी निवासी नेपाली अटोरिक्साबाट लडेर घाइते भएपछि उपचारका लागि भारतको लखनउतर्फ लैजाने क्रममा आइतबार मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार वीरेन्द्र चोकबाट धारापानी जाने क्रममा शनिबार दिउँसो भे १ ७९१८ नम्बरको अटोरिक्साबाट उनी सडकमा लडेका थिए ।
लगत्तै उनलाई सोही अटोरिक्साले कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल पु¥याएको थियो । प्रदेश अस्पतालले उनको अवस्था ‘चिन्ता जनक’ रहेको बताएपछि परिवारका सदस्य तथा उनका शुभचिन्तकले बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पु-याएकोमा अवस्था गम्भीर भएकाले त्यहाँबाट पनि भारतको लखनउ पठाइएको थियो ।
दुर्घटनापछि अटो रिक्सासहित चालक फरार रहेकोेले खोजी तीव्र पारेको प्रहरीले जनाएको छ । ४२ वर्षीय दृष्टिविहीन नेपाली लामो समयदेखि वीरेन्द्रनगरका सडकपेटीमा बसी गीत गाएर जीवन निर्वाह गर्दै आएका थिए ।