कला/साहित्यआइतबार, १५ भाद्र , २०७६

लेकालीले सम्झियो सांगीतिक इतिहास

हिमालखबर

नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा यसपालि लेकाली ब्याण्डका गीतहरू प्रस्तुत भएका छन् ।

शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा लेकालीले सृजना गरेका १४ वटा गीत प्रस्तुत भएका थिए ।

२०२४ सालमा स्थापना भएको लेकालीले समूहको नाममा एकल कन्सर्ट नगरेको लामो समय बितिसकेको थियो । लेकालीले यसअघि २०२८ सालमा आफ्नो पछिल्लो सांगीतिक कार्यक्रम गरेको सम्झना गर्‍याे।

लेकालीले संगीतकार, गीतकार तथा गायक द्वय गणेश रसिक र हिरण्य भोजपुरेले भरेका धुनहरूलाई गाउने गरेकाे छ। उनीहरूका धुनहरू तत्कालीन समसामयिक प्रचलन र लोक धुनमा आधारित हुने गर्छन् ।

लेकालीले शुक्रबार साँझ तिनै पुराना र चर्चित गीतहरू गाएर नेपालयको ‘आर’शालामा उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रममा लेकालीका प्रारम्भिक चरणका तीन सदस्य गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको सहभागिता थियाे । विगतमा धेरै सदस्यका साथ प्रस्तुत भएको लेकालीले आफ्ना धेरैजसो सहयात्रीमध्ये कोही देश बाहिर रहेको र कतिपयको अवसान भएको जानकारी गराएको थियो ।

लेकालीमा निर्मला श्रेष्ठ, शशी भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीनकिशोर राई, नीरा श्रेष्ठ, न्हुच्छे बहादुर लगायतको संलग्नता रहेको थियो ।

शुरुमा अंग्रेजी महीनाको अन्तिम शुक्रबार एक दिन मात्र हुने गरेको पलेँटी हाल अन्तिम सप्ताहान्त शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस