कश्मीरबारे पाकिस्तान सशर्त वार्ताका लागि तैयार : पाकिस्तानी विदेशमन्त्री कुरैशी
पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले पाकिस्तान कश्मीरबारे सशर्त वार्ताका लागि तैयार भएको बताएका छन् । उनले संवादका लागि तेस्रो पक्षको मध्यस्थताको पनि स्वागत गरिने बताए ।
बीबीसी उर्दूसँगको साक्षात्कारमा पाकिस्तान वार्ताका लागि कहिल्यै नभाग्ने र वर्तमान भारतीय रवैया वार्ताका लागि अनुकूल नभएको पनि कुरैशीले बताए ।
कुरैशीले भने, “भारत प्रशासित कश्मीरमा कर्फ्यू हटाउनुपर्ने, उनीहरूको अधिकार बहाल गर्नुपर्ने, हिरासतमा लिइएका कश्मीरी नेताहरूलाई मुक्त गरिनुपर्ने र उनीहरूसँग भेट्न दिइनुपर्ने लगायत शर्त पूरा भएमा वार्ता हुन सक्छ ।"
पाकिस्तानले वार्ताको विकल्प युद्ध नरोजेको र शान्तिका पक्षमा रहेको पनि कुरैशीले बताएका छन् ।
उनले अरब देशहरूको भारतसँगको कारोबार छुट्टै रहेको र कश्मीरबारे उनीहरूको धारणा बेग्लै रहेको पनि बताए । अमेरिकाले पनि पाकिस्तानको साथ दिने कुरैशीले बताए ।