तीन दिनदेखि बुटवल बन्द, यात्रु अलपत्र
संविधान संशोधन विधेयकको विरुद्ध आयोजित आमहड्तालले आज तेस्रो दिन पनि रुपन्देही लगायतका जिल्लाहरु पूर्णरुपमा ठप्प छन् । यातायात, बजार केही खुलेको छैन ।
आन्दोलनमा उत्रेका युवाहरु रातभर पनि सडकमा बसेर बाटो बन्द गरेपछि पूर्वपश्चिम राजमार्गमा गुड्ने सवारी साधनहरु अलपत्र परेका छन् ।
रुपन्देहीका बुटवल, भैरहवा, मणिग्राम, देवदह, मुर्गीया लगायतका बजार ३ दिनदेखि खुलेका छैनन् ।
पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सवारी ठप्प छन् ।
अवरोधका कारण भित्री तथा हुलाकी मार्गमा पनि सवारीका साधन चलेका छैनन् ।
बन्दले अस्पताल आउजाउ गर्ने विरामी, भारतमा रोजगारी गर्न जाने तथा फर्कने प्रवासी नेपाली सबैभन्दा बढी समस्यामा परेका छन् ।
आन्दोलनको केन्द्रविन्दु बुटवलका चोकचोकमा संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । आमहडतालका कारण संघसस्था, उद्योग व्यवसाय पनि ठप्प छन् ।
गुल्मी, अर्घाखांची, पाल्पा, रोल्पा, रुकुम, प्युठान, बाँके लगायतका जिल्लाहरुमा पनि हड्तालको पूर्ण प्रभाव छ ।
अर्घाखाँचीमा चार दिन देखिको बन्दका कारण जनजीवन प्रभावित र कष्टकर बनेको छ ।
बिहीबारदेखिको बन्दका कारण यातायात, बजार, कलकारखाना र शिक्षण सँस्था पनि ठप्प छन् ।
बन्दलाई शान्तिपूर्ण बनाउन लागि परेको संयुक्त संघर्ष समितिका संयोजक बिष्णु मुस्कान ले बताए ।
दीपक ज्ञवाली, बुटवल/ प्रेम आचार्य, अर्घाखाँची