तेह्रथुमका आगलागी पीडितको विजोग, २७ करोडको क्षति
-लक्ष्मी गौतम, तेह्रथुमबाट
तेह्रथुमको आठराईस्थित संक्रान्ती बजारमा १ पुसमा भएको आगलागीमा सर्वस्व गुमाएका पीडित परिवार खुल्ला आकाश मुनी बस्न वाध्य छन् ।
आगलागीमा घरसँगै भाँडाकुँडा, नगद–जिन्सी र व्यवसाय समेत गुमाएका पीडितहरुले पुस महीनाको चिसोमा शितमा भिज्नु परेको छ ।
इलाका प्रशासन कार्यालय संक्रान्तीले संकलन गरेको तथ्यांक अनुसार आगलागीमा जलेका २८ घरमा डेरा र पसल व्यवसाय सञ्चालन गर्दै आएका गरी ७१ परिवारका २०० भन्दा धेरै सदस्यको धनमाल र अवास नष्ट भएको छ ।
शुक्रवार विहान साढे नौ वजे शुरु भएको आगलागीवाट क्षति भएको सम्पतीको यकिन विवरण आइ नसके पनि शनिवार अवेरसम्म रु २७ करोड
अधिकको क्षति विवरण संकलन गरिएको घटनास्थलमा भेटिएकी तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले जानकारी दिइन् ।
आगलागी पीडितलाई नजिकैको त्रिमोहन उच्च माविमा राख्ने तयारी थालिएको उनको भनाई छ ।
पीडित परिवारका लागि दैवी प्रकोप उद्धार समिति तेह्रथुमले शनिवार प्रति परिवार १७ किलोका दरले खाद्य सामग्री वितरण गरेको छ ।
यस्तै पाँचथर उद्योग वाणिज्य संघ फिदिमले पीडित परिवारका लागि ३० किलोका दरले चामल, दुई किलो नुन, ५ किलो चिउरा र २ लिटरका दरले खाने तेल उपलव्ध गराएको छ ।
घट्नास्थल पुगेका संघका अध्यक्ष मित्रप्रसाद काफ्ले नेतृत्वको टोलीले पीडित परिवारलाई राहत सामग्री उपलव्ध गराएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा पाँचथरले भने पीडित परिवारलाई एकसेट भाँडा, त्रिपाल र लत्ताकपडा लगायतका सामग्री उपलव्ध गराएको छ ।
“छिमेकी अग्नी सेढाईको घरवाट शुरु भएको आगोले हेर्दाहेर्दै घर बजार स्वाहा भयो, करिब एक करोड लगानीको हार्डवेयर पसलसँगै डेरा गरेर वस्ने १० परिवारको सर्वस्व भयो,” पीडित मध्येकी लिलाकुमारी मगरले भनिन् ।
“तीनवर्ष अघि गाँउवाट आएर स्थापित गरेको मोबाइल फोन पसल एकैछिनमा खरानी भयो, अव के गरी खुट्टा टेक्ने ?” मोवाइल पसल जल्दा दश लाख वढिको क्षति भएका अर्का पीडित युवेन्द्र ढकालले भने ।
गृह मन्त्रीको आश्वासन
आगलागीपछि शनिवार दिँउसो घट्नास्थल पुगेका उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले घटनास्थलको निरिक्षणसँगै पीडित परिवारसँग भेटघाट गरेका छन ।
अग्नी पीडितसँग कुरा गर्दै निधिले पीडितलाई आवास र राहत उपलब्ध गराउन सरकारले सहयोग गर्ने बताए ।
मन्त्री निधिसँग स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगू र सभासद सीता गुरुङ सहभागी थिए ।
+-