ब्लगशनिबार, १४ भाद्र , २०७६

काठमाडाै‌ भन्दा पुरानाे सभ्यता दाेलखा

वसन्त महर्जन

मिति अङ्कित अभिलेख प्राप्त भएको वेलादेखि मात्र सभ्यताको विकास भयो भन्ने मान्न मिल्दैन।

दाेलखाकाे मञ्जुश्री स्थान रहेकाे पादुका ।

दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिरबाट उत्तरतर्फ आधा घन्टाको हिंडाइमा पुगिने ‘मञ्जुश्री पार्क’ लाई पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ । ‘तिलिन्चो’ थुम्कोमा रहेको पार्कको मुख्य भागमा झट्ट हेर्दा सामान्य देखिने मञ्जुश्रीको ढुङ्गे पादुका सहितको सानो मन्दिर छ ।

मञ्जुश्री पार्कको विकासमा लागेका स्थानीय पर्यटन व्यवसायी शान्तकृष्ण श्रेष्ठ महाचीनबाट आएका महामञ्जुश्री दोलखाको बाटो भई काठमाडौं उपत्यका पुगेका हुन् भन्ने प्रचारप्रसारका अभियन्ता पनि हुन् ।

शुरूमा काठमाडौं उपत्यका ठूलो दहको रूपमा रहेको र चोभारको गल्छी काटेर पानी बगेपछि यहाँ मानव बस्ती बसाल्ने काम बोधिसत्व मञ्जुश्रीबाट भएको विश्वास काठमाडौंका बौद्ध धर्मावलम्बीहरूको छ । यो विश्वासको आधार स्थानीय ‘स्वयम्भूपुराण’ हो । यही कथाको आधारमा काठमाडौंको सभ्यताभन्दा दोलखा पुरानो हो भन्ने दाबी पर्यटन व्यवसायी श्रेष्ठको छ ।

भौगर्भिक अध्ययन अनुसार पनि काठमाडौं उपत्यका शुरूमा ठूलो तलाउ थियो र प्राकृतिक प्रक्रिया अनुसार लामो समयपछि पानीले निकास पाएको हो । यसलाई बौद्ध धर्मावलम्बीहरूबीच मञ्जुश्री र हिन्दूहरूबीच कृष्णसँग जोडेर कथा रचना भएको छ ।

यस्तै अर्को प्रसङ्ग पनि छ । त्यसमा भारतको विक्रमशील महाविहार सम्बद्ध महापण्डित धर्मश्रीमित्रलाई ‘नामसंगीति’ ग्रन्थको एउटा पाठमा थप जानकारी चाहिएकाले उनी नेपालको बाटो भएर महाचीनको यात्रा गरिरहेका थिए तर उनले भेट्न चाहेका गुरु काठमाडौंको म्हेयपीमा खेतीकिसानी गरिरहेको भेटिए । ती किसान मञ्जुश्री नै भएको कुरा पछि खुल्यो ।

धर्मश्रीमित्रले पछि मञ्जुश्रीको अपमान गरेका कारण उनका दुवै आँखा मञ्जुश्रीको पादुकामा खसेको मानिन्छ । दोलखामा रहेको मञ्जुश्रीको पादुकामा पनि दुई आँखा अङ्कित छन् । यही भएर मञ्जुश्रीको प्रतीकका रूपमा दुई आँखा अङ्कित पादुका बनाउने चलन काठमाडौंमा छ ।

महायान बौद्ध धर्म अनुसार मञ्जुश्री एक बोधिसत्व हुन् । ललितविस्तर लगायतका महायानिक ग्रन्थ अनुसार गौतम बुद्धको पूर्वजन्ममा उनी कल्याणमित्रका रूपमा थिए । बोधिसत्व धार्मिक विश्वास वा आस्था बाहेक ऐतिहासिक आधारमा पुष्टि भएको छैन र हुँदैन पनि । तर ज्ञान र करुणाको प्रतीकका रूपमा लिइने यी बोधिसत्वलाई नै प्रमुख पात्रका रूपमा अङ्गीकार गरी साधना गर्ने महायानीहरू आजभोलि पनि भेटिन्छन् ।

इस्वीको चौथो शताब्दीतिर बोधिसत्व मञ्जुश्री भारतमा लोकप्रिय थिए । मञ्जुश्री नामका एक भिक्षुले पनि आफूलाई बोधिसत्व मञ्जुश्रीको निर्माण काय (शारीरिक रूप) भनी प्रचार गरेको पाइन्छ ।

इतिहास अध्ययन गर्दा दोलखालाई प्रायः मध्यकालीन बस्तीको रूपमा चिन्ने र चिनाउने गरिन्छ । जुन साल मिति अङ्कित अभिलेख प्राप्त भयो त्यही वेलादेखि मात्र सभ्यताको विकास भयो भन्ने मान्न मिल्दैन । किनभने त्यसको पृष्ठभूमि अझै पुरानो हुन्छ ।

उनै भिक्षु धर्म प्रचारका लागि काठमाडौं आएको घटनालाई कालान्तरमा महाचीनको उथाइसानबाट आएका बोधिसत्व मञ्जुश्री हुन् भनी बुझेको अनुमान गर्न सकिन्छ ।

यो अनुमानको आधार त्यसवेला भारतबाट काठमाडौं आउने एउटा बाटो जनकपुर–सिन्धुली–दोलखा–साँखु पनि हो । साँखु काठमाडौंबाट उत्तर दिशातर्फ परेकाले चीनबाट झरेकाे भ्रम पर्न गएको हुनुपर्छ । किनभने चीनबाट आएका मञ्जुश्रीले काठमाडौंमा बस्ती बसाइ फेरि चीन नै फर्किए भन्ने जनविश्वास पनि स्थानीय बौद्ध धर्मावलम्बीहरूमा छ ।

यस क्रममा अनेक ठाउँमा केन्द्रहरूको स्थापना गर्नुका साथै त्यसको महत्व बढाउन कथा–उपकथा सिर्जना गर्ने काम भयो । मञ्जुश्री सम्प्रदायका बौद्ध धर्मावलम्बीहरू वसन्तपञ्चमीलाई विशेष दिन मान्दछन् ।

अहिले पनि प्रत्येक वर्ष वसन्तपञ्चमी (माघ शुक्लपञ्चमी) का दिन मञ्जुश्री स्थानहरूमा मेला लाग्दछ । यस्ता मञ्जुश्री स्थानहरू काठमाडौंको स्वयम्भू पछाडि, भक्तपुरको सुडाल र दोलखा लगायतका ठाउँमा छन् । श्रीपञ्चमीको दिन दोलखालीहरू तिलिन्चो डाँडामा जाने परम्पराले यही कुराको पुष्टि गर्छ । डाँडास्थित मन्देश्वरी मन्दिरलाई पहिले मञ्जुश्री स्थान भनिन्थ्यो ।

दोलखामा रहेको मञ्जुश्री स्थानका बारेमा उल्लेख भएको प्राचीन अभिलेख अहिलेसम्म पाइएको छैन । यद्यपि पादुका, पादुकाको सुरक्षार्थ राखिएको ढुङ्गाको सानो मन्दिरको बनावट र शैलीलाई पुरातात्विक प्रमाणका रूपमा लिन भने सकिन्छ । अज्ञात र भिन्नै नामबाट भए पनि मञ्जुश्रीको परम्परा कायम रहनु अर्को उपलब्धि हो ।

इतिहास अध्ययन गर्दा दोलखालाई प्रायः मध्यकालीन बस्तीको रूपमा चिन्ने र चिनाउने गरिन्छ । जुन साल मिति अङ्कित अभिलेख प्राप्त भयो त्यही वेलादेखि मात्र सभ्यताको विकास भयो भन्ने मान्न मिल्दैन । किनभने त्यसको पृष्ठभूमि अझै पुरानो हुन्छ ।

सातौं शताब्दीमा राजा नरेन्द्रदेवको पालादेखि नेपाल भोट व्यापार सम्बन्ध भएको मानिन्छ । व्यापार सम्बन्ध भएपछि ठाउँठाउँमा सुरक्षा चौकी (गुल्म) स्थापना गरेको र ‘दोलखामा पनि यस्तो गुल्म रह्यो होला’ भनी इतिहासकार धनबज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठ आफ्नो पुस्तक ‘दोलखाको ऐतिहासिक रूपरेखा’ मा अनुमान गर्छन् ।

लेखकद्वयले तिलिन्चोस्थित मञ्जुश्रीको पादुका र मन्दिरको अवलोकन गर्न नपाएको कुरा उक्त पुस्तकमा यस सम्बन्धी कुनै उल्लेख नभएबाट बुझिन्छ । यस अनुसार मञ्जुश्री पार्कस्थित पुरावशेषले संकेत गरेको समयावधिबाट नै दोलखाको इतिहास केलाउनुपर्ने हुन्छ । यो ऐतिहासिक प्राप्ति दोलखाको पर्यटन उद्योगका लागि पनि ठूलो उपलब्धि हो ।

प्रतिकृया दिनुहोस