अन्तर्वार्ता/विचारशनिबार, १४ भाद्र , २०७६

'सगरमाथा क्षेत्रमा प्रदूषण बढेपछि प्लाष्टिक प्रयाेगमा निषेध'

हिमालखबर

गएको ३१ साउनमा ३० माइक्रोन भन्दा कमका प्लाष्टिक प्रयोगमा निषेध र प्लाष्टिक तथा सिसा बोतलमा कोल्ड ड्रिङ्स जस्ता पेय पदार्थ आयात पनि बन्द गर्ने निर्णयबारे खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे भन्छन्, “सगरमाथा क्षेत्रमा व्यापक प्रदूषण भएको जनगुनासोका आधारमा यस्तो निर्णय गरेका हौं।”

३० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोग गर्न निषेध गर्नुको कारण के हो ?

३० माइक्रोन भन्दा कमका प्लाष्टिकको प्रयोगका कारण प्रदूषण बढेको, माटोको उर्वराशक्ति घटाएको लगायत जनगुनासो आए, त्यसैले निषेध गरिएको हो । १६ पुसदेखि गाउँपालिकाका पाँचै वडामा यो निर्णय लागू हुनेछ ।

कोल्ड ड्रिङ्स नै बन्द गर्नुको कारण चाहिं के हो नि ?

सगरमाथा क्षेत्रमा फोहोर बढेकाले सुरक्षित र सफा बनाउन यस्तो निर्णय गरिएको हो ।

सिसाका बोतल राम्रो व्यवस्थापन हुन नसकेका कारण पर्यटकलाई चोटपटक लाग्ने र दुर्घटनामा पर्ने घटना बढ्यो । अब क्यानमा राखिएका कोल्ड ड्रिङ्स जस्ता पेय पदार्थलाई मात्र आयात अनुमति दिइएको छ ।

नियम बनाउँदैमा कार्यान्वयन हुन्छ भन्ने आधार के ?

स्थानीयबाटै फोहोर बढेको गुनासो आएकाले यसको प्रभावकारी कार्यान्वयन हुनेमा हामी आशावादी छौं । भ्रमण वर्ष २०२० नजिकिंदै गएकाले गाउँपालिकासँग यो निर्णय कार्यान्वयन गर्नुको विकल्प पनि छैन ।

सगरमाथाको काख यो हिमाली जिल्लामा भ्रमण वर्ष २०२० लक्षित के–के कार्यक्रम सञ्चालन हुँदैछन् ?

गाउँपालिकाले प्रत्येक साढे दुई किलोमिटरभित्र सार्वजनिक शौचालय स्थापना गर्ने, ट्रेकिङका लागि पर्यटक हिंड्ने बाटोमा खच्चडले फोहोर गर्ने भएकाले सामान ढुवानीका लागि चौंरीखर्कदेखि नाम्चेसम्म रोपवे सञ्चालन गर्ने निर्णय गरिसकेको छ । गाउँसभाले खरिखोलादेखि चौंरीखर्कसम्म विद्युतीय सवारी साधन मात्र चलाउन अनुमति दिने गरी सडक बनाउने निर्णय गरेको छ । अहिले ट्र्याक खोलिंदैछ । आव २०७७/७८ देखि विद्युतीय सवारी साधन चल्न थाल्नेछन् ।

विद्युतीय सवारीका लागि पर्याप्त विद्युत् छ त ?

चार्जिङ स्टेसन राख्नेछौं । पर्याप्त विद्युत् आपूर्तिका लागि नेपाल विद्युत् प्राधिकरणसँग कुराकानी गर्दैछौं ।

 

प्रतिकृया दिनुहोस