कला/साहित्यशनिवार, पौष २, २०७३

'सेतो सूर्य'को इन्द्रेणी

रविन गिरी

 

-रविन गिरी

यथार्थमा सूर्य एकै रंगको हुँदैन । तर, पृथ्वीबाट हेर्दा सूर्य सेतो देखिन्छ । त्यसैले हुनुपर्छ, हाम्रो राष्ट्रिय झण्डामा पनि सूर्यको रंग सेतो नै छ ।

दीपक रौनियार निर्देशित चलचित्र सेतो सूर्य ले यतिबेला देशभरका हलहरुमा न्यानो छर्ने प्रयत्न गरिरहेको छ । भेनिस, टोरन्टो र बुसानका चलचित्र महोत्सवमा छनोट भएको र सिंगापुरमा पुरस्कृत नै भएको प्रतिक्षित यो चलचित्र काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म (किम्फ) फेस्टिभल हुँदै नेपाल प्रवेश गर्यो ।

परदेश जस्तै देशको आकाशमा सेतो सूर्य को उदय शानदार रह्यो । पूर्वसमिक्षा र समिक्षाका वाहवाहीले हेर्नैपर्ने नेपाली चलचित्रको दुर्लभ सूचीमा उभ्यायो । निर्देशक रौनियारको पत्रकारिता पृष्ठभूमिले पनि प्रचारमा निकै सघाउ पुर्याएको हुनुपर्छ ।

२०५२ सालमा शुरु भइ दश वर्षसम्म चलेको सरकार–माओवादी सशस्त्र युद्धले कम्तिमा १६ हजार नेपालीको ज्यान लियो । १३ सयभन्दा बढी अझ बेपत्ता छन् । द्वन्द्वबाट शारीरिक र मानसिक रुपमा पीडित हुनेको संख्या लाखौं छ । आधुनिक नेपालको इतिहासको कहाली लाग्दो दशकका कथा–व्यथामाथि चलचित्र बनाउनु सेतो सूर्य को पहिलो सफलता हो ।

पछिल्लोसमय उमाकालोपोथी ले दशकको द्धन्द्धलाई चलचित्र बुनेका थिए । तर, सेताे सूर्य ले अझ एक कदम अघि बढेर द्वन्द्वोत्तर समाज देखाउने प्रयत्न गरेको छ । यसहिसाबमा ‘पोष्ट ट्रमाटिक स्ट्रेस’ बाट गुज्रिरहेको नेपालको झल्को हो, सेताे सूर्य

गाउँमा धेरैवर्ष प्रधानपञ्च बनेका बुबाको मृत्यु भएपछि घरबाट शव निकाल्न र दाहसंस्कार गर्न तीन दिनसम्म व्योहोर्नु परेको झमेला नै चलचित्रको मूलकथा हो । कथालाई अघि बढाउन यति शक्तिशाली ‘बोन अफ कन्टेन्सन (विवादको जड)’ खोज्न सक्नु निर्देशकीय खुबी हो । सेना र माओवादीमा लागेका दुई छोरा, छोरीका लागि बुबा खोजिरहेकी बुहारी, बुबा खोजिरहेकी छोरी, माओवादीले मारिदिएका बुबाआमाको टुहुरोका आ–आफ्ना कथामा दर्शकले आफू र आफ्नाका वर्तमान भेटन सक्छन् ।

चन्द्र (अग्नि) माओवादी भएको थाहा पाएपछि आफ्ना बुबाआमाको हत्याको बदला लिन बालक बद्री (अमृत परियार) को आक्रोश र तपाईँ मेरो बुबा हो ? भन्दै बालिका पूजा (सुमी मल्ल) ले गर्ने निर्दोष प्रश्न चलचित्रका सबैभन्दा शक्तिशाली दृश्य हुन् । ‘अयोग्य लडाकु’ भइ घर फर्किएका चन्द्रका भूमिकामा रहेका दयाहाङ राई अन्योलग्रस्त अभिनय वास्तवमै अद्भूत छ । सिनेमाटोग्राफर मार्क ओ फेयरगाइलले ‘अन्डरलिट’ प्रकाशमै कथाको संवदेनशीलता बुझाएका छन् । एउटा दृश्यलाई जिज्ञासामै अन्त्य गरेर अर्को दृश्यमा जोडने सम्पादक डेभिड बार्करको क्षमताले चलचित्रलाई न्याय गरेको छ ।

पटकथामा केही तथ्यगत त्रुटी र अस्वभाविक दृश्यबारे मौनता साँध्नू सेतो सूर्य प्रति नै अन्याय हुनजान्छ । किनकि हाइवे बाट आफूलाई मिहिनेती र प्रतिभाशाली निर्देशकको रुपमा प्रमाणित गरेका रौनियारबाट मुलूकले थुप्रै गतिला चलचित्र पाउन बाँकी नै छ ।

‍‍‍‍‍‍...

संविधान घोषणाको एकदिनअघि अर्थात् २ असोज २०७२ । बुबाको लाश बोक्ने मान्छे नभएपछि चन्द्र छिमेकी गाउँको प्रहरी चौकीमा सहयोग माग्न पुग्छ । चन्द्र पूर्व माओवादी लडाकू भएको थाहा पाएपछि प्रहरी इन्चार्जले अर्को गाउँमा जान नमिल्ने बताउँछ । बरु, नजिकैको डाँडा देखाउँदै विद्रोहीहरु बस्ने बताउँदै त्यही सहयोग माग्न जान संकेत गर्छ ।

एकतमासले चलचित्र हेरिरहेका दर्शक यहिँनेर बेस्सरी झस्कन्छन् । माओवादी सेना समायोजनपछि संगठित रुपमा सैन्यदस्ताको कुनै अस्तित्व नदेखिएका बेला चलचित्रमा भने एकाएक शसस्त्र विद्रोही समूह प्रकट हुन्छ । त्यतिमात्र होइन, सोही रात तिनै सशस्त्र दस्ता र प्रहरीको भीडन्तसमेत हुन्छ । एकजना विद्रोहीको मृत्युसमेत हुन्छ ।

‘त्यसैले त यो चलचित्र ? सम्पूर्ण तथ्य त वृत्तचित्रमा मात्र पाइन्छ !’ जवाफ यस्तो पनि आउनसक्छ । बिम्ब वा प्रतीकको तर्क पनि गर्न सकिन्छ । तर, यहाँनेर सेतो सूर्य चुक्नुको कारण अरु केही होइन, स्वयं चलचित्रको ‘टाइमलाइन’ हो । समय–समयमा रेडियोका समाचार र अन्तर्वार्तामार्फत दर्शकलाई समयसँग जोडने प्रयास नगरेको भए ‘आख्यान, बिम्ब र सिनेम्याटिक लिबर्टी’ का नाममा निर्देशक उम्कन सक्थे । तर, तथ्य र मिथ्यामा एकैपटक खेल्न खोज्दा निर्देशक समयको गलत व्याख्या गर्न पुगेका छन् ।

द्वन्द्वकालमा भए बेग्लै, द्वन्द्व सकिएको झण्डै दशकपछि पश्चिम नेपालको कुनै गाउँमा लाश बोक्नेसम्म मान्छे नहुनु, मृत्युमा कुनै शोक नदेखिनु, बुबा सम्झेर सेना छाडि गाउँ आएको छोरा बाटैमा शव लडाएर रक्सी खान जानु, प्रधानपञ्च र सभासद्मा एकै पात्र प्रकाश घिमिरेलाई अभिनय गराउनु, २ असोजको कुरा भन्दैं ३१ साउन २०७२ मा बीबीसी साझा सवालले बाबुराम भट्टराईलाई लिएर अन्तर्वार्ता बजाउनु नसुहाउने दृश्य हुन् । सकारात्मक सन्देश दिए पनि चलचित्रको अन्त्य हल्का र नाटकीय लाग्छ ।

...

तर, यत्तिका कमजोरीसहितको सेतो सूर्य ले आफ्नो उज्याँलो घटाएको छैन, सन्दर्भ र औचित्य मर्न दिएको छैन । एक अन्तर्वार्तामा निर्देशक रौनियारले चलचित्रको नामलाई नेपालको झण्डा, शवलाई पुरानो संविधान र विवादलाई संविधान बनाउँदाताकाका पुराना र नयाँ विश्वासको रस्साकस्सीसँग जोडन चाहेको बताएका छन् । नयाँ संविधान आएको सुखद दिनसँगै शवको अन्त्येष्टि हुनुले बिम्बको अर्थलाई अझ उजिल्याउँछ । यति बलियो राजनीतिक सन्देश बोकेको सेतो सूर्य ले उठाएका समाजका इन्द्रेणी आयामबारे थप विमर्श आवश्यक छ ।

 

प्रतिकृया दिनुहोस