ब्लगशुक्रबार, १३ भाद्र , २०७६

नेपालीपन खाेज्दा भेटिने यी नामहरु

हिमालखबर

क्यानडाको राजधानी अटावाबाट टोरन्टो लाग्दा बाटामा दुई ठाउँ देखिए, क्यलाडार र न्यापनी। मैले मनमनै दुवै नामलाई जोडेर नेपालीकरण गरें, कलाधर न्यौपाने। कलाधर न्यौपाने कसैको नामसँग मिल्दो होला, मेरो मनले भने आफ्नोपन खोजेको थियो।
 

परदेशिएपछि मानिसले आफ्नोपन खोज्दो रहेछ । नेपालबाट उड्नुअघि विमानमा सिट छेउ को पर्ला भन्ने कौतूहल सिटमा नबसुन्जेल रहिरहन्छ । कतारको दोहा होस् वा युएईको अबुधाबी, नेपाली दाजु–भाइ र दिदी–बहिनी भेट्दा औधी रमाइलो लाग्छ ।

त्यहाँबाट उडेपछि आफ्नोपन पातलिंदै जान्छ । विस्तारै आफू पुग्ने ठाउँको कल्पना आउँछ— आफ्नो बास, सीमित साथीभाइ आदि । अनि नयाँपन बाक्लो हुन्छ । 

राजेश काेइराला

करीब ११ वर्षअघि बुवा–आमा अमेरिका आउनुभएको थियो, ज्वाईं र बहिनीको निमन्त्रणामा । यता करीब ६ महीना बिताउनुभयो । बुबाले बारम्बार एउटा प्रश्न सोधिरहेको प्रसङ्ग ज्वाईंले सुनाउनुहुन्छ ।

बुबा भन्नुहुन्थ्यो रे, “मान्छेको अर्को जन्म हुन्छ भन्थे । मैले चिनेका धेरै मानिसको स्वर्गवास भइसक्यो । तीमध्ये कोही त यहाँ जन्मेको होला भनेर यसो हेर्छु ।

कोही पनि अनुहार मिल्ने छैन । बोली मिल्ने छैन ।” वास्तवमै ज्वाईं–बहिनीले चिनाएका मानिसबाहेक बुबा–आमाले अरू कोही भेट्ने कुरो आएन । बुबाको प्रश्नको उत्तर कतै छैन । उहाँले आफ्नोपन खोज्नुभएको जस्तो मलाई लागेको हो ।

बुबा–आमाका जिज्ञासा उहाँहरूले बुझेको संसारका हुन् । हामीलाई त्यस्तो नलाग्ला । हामी भाषा बुझछौं । धेरै तरिकाले सजिलो छ । जन्मथलो होइन, कर्मथलो हो भन्ने बुझदाबुझदै पनि आफ्नोपन खोज्न मनले हिसाबकिताब गरिरहन्छ । दुई वर्षअघिको एउटा प्रसङ्ग ।

क्यानडाको राजधानी अटावाबाट टोरन्टो जाँदा बाटामा दुई ठाउँ देखिए, क्यलाडार र न्यापनी । मैले मनमनै दुवै नामलाई जोडेर नेपालीकरण गरें, कलाधर न्यौपाने । कलाधर न्यौपाने कसैको नामसँग मिल्दो होला, मेरो मनले भने आफ्नोपन खोजेको थियो ।

आफ्नो लाग्नेको अर्थ भिन्न हुन्छ । नाताको जो कोही आफ्नो भइगयो । नेपाली देख्दा आफ्नो लाग्छ । नेपाली बोल्ने भूटानी दाजु–भाइ आफ्नो लाग्छ । आफू नजिकको भारतीय आफ्नो लाग्न सक्छ । अलि–अलि बोलेको बुझने भएकाले पाकिस्तानी आफ्नो लाग्न सक्छ ।

बोलेको नबुझे पनि चीनका मान्छेलाई छिमेकी ठान्छ मनले । भियतनामी, कम्बोडियाली, बङ्गाली आदि जो पनि एशियन आफ्नो लाग्छ । अमेरिकीहरू भिन्न भन्ने लागेर यसो भएको होइन । टाढा बस्दा मनले कता–कता रेखा कोर्छ । तर यी रेखाहरू धेरै दिनका लागि होइनन् भन्ने पनि हुन्छ । 

यस्तै लाग्ने क्रममा मलाई एकपटक दक्षिण सुडानका मान्छे आफ्नो लाग्यो । यो आफ्नो लाग्नुको अर्थ अनौठो छ । यही भएर मैले न्यू ह्याम्सरको म्यानचेस्टरमा बस्ने एक दक्षिण सुडानीसँग गफ पनि गरें । “थाहा छ नि, उनी नेपालका हुन् । छरछिमेकका पनि होइनन् । यहाँ पनि मैले धेरै नेपाली चिनेको छु”, पिटर माल्वलले भने । उनलाई मैले सोधें, “म नेपालबाट आएको हुँ । के तिमीले भोजराज पोखरेललाई चिनेका छौ ?”

पिटर दक्षिण सुडानबाट अमेरिका आएका हुन्, शरणार्थीका रूपमा । नेपालका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलका नाताले पिटर मात्र के यहाँ बस्ने दक्षिण सुडानी आफ्ना भए । पोखरेल सुडानको जनमत संग्रहको पर्यवेक्षणका लागि बनेको तीन सदस्यीय टोलीमा परेका थिए ।

 

प्यारा भए, एभरेष्ट र शेर्पा

धेरैलाई यस्तो हुँदो हो । जसको परिणाम ठान्छु, म न्यूयोर्कको ‘माउन्ट एभरेष्ट वे’ लाई । गत मार्चको दोस्रो शनिवार (९ मार्च, २०१९) अमेरिका बस्ने नेपाली समुदायले एउटा सम्मान पायो, न्यूयोर्कको ज्याक्सन हाइटस्थित ७५ स्ट्रीटको ३१ एभिन्यू बाटोको नाम ‘माउन्ट एभरेष्ट वे’ उद्घाटन गरेर । यो नाम राख्ने प्रस्ताव गत डिसेम्बरमा सिटी काउन्सिलले गरेको थियो ।

न्यूयोर्क सिटीको काउन्सिल मेम्बर कोष्टा कोष्टनडिसले विशेष कार्यक्रमबीच स्ट्रीटको नाम ‘माउन्ट एभरेष्ट वे’ घोषणा गरे । न्यूयोर्कमा नेपालीले मःमः पसल, बाजेको सेकुवा, नेपाली खानाको स्वाद, नेपाली पहिरन आदि पाएकै थिए, एउटा सिङ्गो सडकले नेपालीपन पाएको छ ।

नेपालसँग सम्बन्धित दुई शब्द अगाडि छन्, एभरेष्ट र शेर्पा । यसो भनिरहँदा ‘माउन्ट एभरेष्ट वे’ नाम भएका बाटाहरू अमेरिकामा धेरै छन् । यो पहिलो होइन, तर स–सम्मान नेपालीका लागि भनिएको पहिलो हुन सक्छ । उदाहरणका लागि, जर्जिया राज्यको अल्फारेट्टा (जोन्स क्रिक) मा एउटा ‘माउन्ट एभरेष्ट वे’ छ । केन्टकीको बोअलिङ्ग ग्रिनमा अलि लामो ‘माउन्ट एभरेष्ट वे’ र साथमा ‘माउन्ट एभरेष्ट कोर्ट’ छ । टेक्ससको केटी भन्ने ठाउँमा भेटिन्छ, अर्को ‘माउन्ट एभरेष्ट वे’ ।

उता क्यालिफोर्नियाको बेकर्सफिल्डमा र मिसिगन राज्यको स्वार्टज् क्रिकमा पनि ‘माउन्ट एभरेष्ट वे’ छन् । यी त भए, एभरेष्ट नाम जोडिएका ठाउँ । एभरेष्ट नाम जोडिएका संस्थाको हिसाब गतिलै छ । न्युजर्सी र बर्मुडामा मुख्यालय रहेको एभरेष्ट रि–इन्स्योरेन्स कम्पनी, सिकागोमा भेटिन्छः एभरेष्ट रेस्टुराँ, टेक्ससस्थित दाहसंस्कार बीमा कम्पनी, एभरेष्ट अन ग्य्राण्ड आदि । 

शेर्पा कुपन, शेर्पा एड्भेन्चर गियर, शेर्पा क्यापिटल, शेर्पा फाइनेन्सियल ग्रुप, शेर्पा टेक्नोलोजी ग्रुप आदि सयौं भेटिन्छन् । म्यासच्युसेट्स राज्यको एगवाममा शेर्पा स्ट्रिट छ ।

सन् २००८ मे १९ मा सगरमाथा दिवसमा गुगलले आफ्नो डुडलमा सगरमाथामा शेर्पा देखायो । सन् २०१० डिसेम्बर २३ मा यहाँको ‘होलिडे’ लाई दर्शाउन विश्वभरका मानिसको चित्रमा शेर्पाहरू ससम्मान राखिएको पाइयो । अरू अनुहारले नेपाली भनेर चिनाउन मिहिनेत नगरेको पो हो कि ?

गत मेमा मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नगरपालिकाको उपप्रमुखमा विजयी किरण सिटौलाले शेर्पा पोशाक लगाएर बौद्ध धर्मग्रन्ध दोमाङ्ग छोएर शपथ लिए । यसअघि दौरा–सुरूवाल लगाएका सिटौलाले यसपटक बक्खु लगाए । अबको पालो तराईको पोशाक भनेका छन् ।

सांग्रिला, नेपाल, काठमाडौं आदि नाम भने अलि पछि आउँछन् । एभरेष्ट, शेर्पा, नेपाल, काठमाडौं, सांग्रिला आदि नाम जोडिएका रेस्टुराँ, क्याफेहरू पुगेर यहाँका पत्रकारले समीक्षा लेखेका स्तम्भ पढ्न पाउनु रोचक नै हुन्छ । कहिलेकाहीं यसो खोज्नुहोस्, निकै भेटिन्छन्, आफ्ना लाग्ने नामहरू ।

र, अलि असजिलो परिस्थिति !

रोमनाइज्डमा ‘बूढा’ लेख्दा Buda (बुडा) लेखेको पाइन्छ । ठ्याक्कै यसरी नै लेखिने बुडा नामक सानो नगर अमेरिकाको टेक्ससमा छ । क्यान्सस राज्यमा नार्का भन्ने ठाउँ छ । अंग्रेजीमा हिज्जे Narka लेखिन्छ । त्यस्तै फटाफट पढियो भने ‘नर्क’ भनिएला । आफ्नोपन खोज्दा नि हजुर के के भेटिन्छ के के ! ?

(कोइराला नेपाली–भाषाको अमेरिकी न्यूजलेटर ‘अक्षरिका’ का सम्पादक हुन् ।)

प्रतिकृया दिनुहोस