कला/साहित्यशुक्रबार, १३ भाद्र , २०७६

भीमप्रसाद गुरागाईंको ‘ती दिनहरु’ सार्वजनिक

हिमालखबर

भीमप्रसाद गुरागाईंको ‘ती दिनहरु’ नामक पुस्तक सार्वजनिक भएको छ । बुबाको मुख हेर्ने दिनको अवसरमा उनका जेठा छोरा गोपाल गुरागाईंद्वारा लिखित पुस्तक लेखक नारायण ढकाल, वरिष्ठ पत्रकार भैरव रिसाल, डा. सरोज धिताल र भीमप्रसादकै श्रीमती पुण्यलताले सार्वजनिक गरेका हुन् ।

२०५८ सालमा मस्तिष्क श्राव (ब्रेन ह्यामरेज) भएपछि ९ दिन बेहोस भएको अवस्थाका बारेमा छोरा गोपालले लेखेका छन् ।

८८ वर्षीय भीमप्रसादको ‘ती दिनहरु’ पुस्तकमा बालापनकाे झझल्काे, गोरु बेचेर नेपाल भ्रमण, थाहै नपाई बिहेको लगन, सम्झनाका तरेलीमा श्रीमती र सन्तान, श्रीमतीका गहना बेचेर घुमिफिर, मावली खोज्दै आसाम, श्रीमतीबाट सरेका देउतालगायत शीर्षक छन् ।

ललितपुरमा आयोजित पुस्तक विमोचन कार्यक्रमपछि बोल्दै वरिष्ठ पत्रकार रिसाल, लेखक नारायण ढकाललगायतले पुराना पुस्ताको पुस्तक त्यो बेलाको समाजको ऐना भएको भन्दै अहिलेको पुस्ताले पढ्नै पर्ने पुस्तक भएको बताए ।

कार्यक्रममा बोल्दै भीमप्रसादको उपचारमा संलग्न डा. वसन्त पन्तले ९ दिन बेहोस भएको मान्छेलाई ८८ वर्षको उमेरमा स्वस्थ देख्न पाउँदा एकदमै खुशी लागेको भन्दै उनको उपचारमा ‘चामत्कारिक’ सफलता भएको सम्झिए । छोराछोरीले बुबा वा आमाको मुख हेर्ने दिनमा खानेकुरा खुवाउने मात्रै भन्दा पनि यसरी पुस्तक प्रकाशित गरिदिने परिपाटी बस्नुपर्ने डा पन्तको भनाइ छ ।

अर्का डा. सरोज धितालले पुस्तकले ८० वर्ष अघिको समाज र सामाजिक व्यवस्थाबारे अहिलेका पुस्तालाई जानकारी दिने भएकाले पुस्तक महत्वपूर्ण इतिहास भएको टिप्पणी गरे ।

९ दिन बेहोस भएर काठमाडौं ल्याएपछि डा धितालको व्यवस्थापनमा डा पन्तलगायतको टोलीले उपचार गरेको स्मरण गर्दै दुवै डाक्टर आफ्नो जीवनको ‘भगवान’ भएको भीमप्रसादले बताए ।

बुलुबुल प्रकाशनबाट प्रकाशित पुस्तक बुबाको अनुभवलाई आफूले संयोजन गरेर प्रकाशित गरेको जेठो छोरा गोपालले बताए ।

प्रतिकृया दिनुहोस