टिप्पणीशुक्रबार, १३ भाद्र , २०७६

'सरकार, मेरो बुबा खोइ ?'

सन्दर्भ: बुबाकाे मुख हेर्ने दिन

शुष्मा बराली

ललितपुर ठेचोकी नग्मा माली (२२) का लागि यसपटक बुवाको मुख हेर्ने दिनमा अनौठो संयोग पर्‍यो। यही दिन बेपत्ता पारिएकाहरूको अन्तर्राष्ट्रिय दिवस परेको छ ।

परिवारमा उनी र बहिनी मात्र छन् । बहिनी स्वस्तिका (१७) जन्मिएकै साल आमाको मृत्यु भयो । बुबा नन्दगोपाल मालीलाई सेनाले सोधपुछका लागि लैजाँदा नग्मा ७ वर्षकी थिइन् । तर, बुबा कहिल्यै फर्किएनन् । बुबाको खोजीका लागि हजुरआमा धेरैपटक धर्ना र जुलुसमा गइन् । उनको पनि ९ महीनाअघि मृत्यु भइसकेको छ ।

नग्मा भन्छिन्, “बुबाको अनुहार मेरो धमिलो सम्झनामा छ तर बहिनीलाई सम्झनामा नै छैन ।” उनीहरू ठेचोस्थित माटोको सानो घरको माथिल्लो तलामा बस्छन् । भुईंतलामा पानी पसेर हिलाम्मे छ । झरी र हिलो पसेको घरबाट नग्मा बुवालाई बारम्बार सम्झिन्छिन् । तर, बुवा नै नचिनेकी उनकी बहिनी स्वस्तिकाले कसरी सम्झिऊन् ?

हिन्दू धर्मावलम्बीले कुशेऔँशीलाई बुबाको मुख हेर्ने पर्वका रूपमा मनाउँछन् । यसपटक १३ भदौमा बाबुको मुख हेर्ने दिन छ । यो दिन सन्तानहरूले बुबालाई मनपर्ने परिकार, कपडा लगायत उपहार दिने चलन छ । बुबा नहुनेहरू सके गोकर्णेश्वर जान्छन्, नसके नजिकका धार्मिकस्थल । तर, नग्मा र उनकी बहिनी स्वस्तिकाले कतै जाने योजना बनाएका छैनन् ।

बुबाको मुख हेर्ने पर्व कहिलेदेखि मनाउन शुरु गरिएको भन्ने कतै लिपिबद्ध नभएको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् । हिन्दु धर्मशास्त्र अनुसार काँधमा बन्चरो बोकेर हिंड्ने परशुराम भृगु ऋषिका छोरा हुन् । उनी पितृभक्त तथा आज्ञाकारी पुत्र थिए । उनको परीक्षा लिन भृगु ऋषिले माता रेणुको शिर र शरीर दुई भाग पार्ने आदेश दिए ।

परशुरामले पितृआज्ञालाई शिरोपर गर्दै माता रेणुको शरीरलाई दुई टुक्रा पारे । यो देखेर खुशी भएका ऋषिले बरदान माग्न भने । परशुरामले माता रेणुको जीवन मागेका थिए । आमालाई दुई टुक्रा पारेको डरलाग्दो सपना जस्तो कुरा बिर्साइदिन पनि आग्रह गरेका थिए । यही शास्त्रीय घटनापछि बुबाको मुख हेर्ने दिनको शुरुवात भएको संस्कृतविद् शर्मा बताउँछन् ।

पितृऔंसी धार्मिक रीति अनुसार बुबालाई सम्मान गरिने दिन रहेको उनी बताउँछन् । तर, यो पर्व मनाउने शैली परिवर्तन हुँदै गएको उनको भनाइ छ ।

संस्कृतिविद् शर्मा भन्छन्, “पुरानो चलन अनुसार कुशेऔंसी मनाउने तरिका नै छुट्टै छ, हामी बुबाको गोडा ढोगेर हाँसको अन्डा सगुनको रूपमा चढाउँथ्यौं । अहिले अनेक तामझाम लिएर भेट्ने, रमाउने चलन छ ।” माइत जान नपाउने चेलीका लागि कुशेऔंसी माइत जाने बाटो खुल्ने पर्व समेत रहेको उनी बताउँछन् ।

पाटनढोकाकी सोनी मालाकार यसपालि बुबाको मुख हेर्ने दिनका लागि निकै उत्साहित छिन् । “योे मेरो विवाह भएको पहिलो वर्ष हो, अन्य वर्षभन्दा यो वर्ष फरक हुन्छ”, उनले भनिन् । नेवारी संस्कार अनुसार बुबालाई सगुनको रूपमा उसिनेको अन्डा, तारेको माछा, फलफूल र रक्सी दिने चलन छ । त्यो बाहेक बुबालाई राम्रो उपहार दिने उनको योजना छ ।

“रातभरि चामल भिजाएर, कुट्नका लागि बिहान सबेरै उठ्नुपर्थ्याे । अनि रोटा हाल्ने, घ्यू हालेर खीर पकाउने, चिनीरोटी, फलफूल लिएर बालाई भेट्न माइत गइन्थ्यो, अहिले त जे पनि बजारमा पाइन्छ, माइत जाने, सबैजना भेट्ने, रमाउने चलन नै हट्दै गयो ।”

समाजशास्त्री चैतन्य मिश्र धार्मिक पर्वले सामाजिक र पारिवारिक सम्बन्ध प्रगाढ बनाउने बताउँछन् । समय परिवर्तन सँगै सामाजिक मूल्य र मान्यतामा पनि परिवर्तन आएकाले पर्व मनाउने शैली फरक हुँदै जानु स्वाभाविक भएको उनले बताए ।

पछिल्लो समय परिवारभन्दा व्यक्तिवादी समाज निर्माण भएको मिश्र बताउँछन् । उनी भन्छन्, “सकारात्मक तरिकाले हेर्ने हो भने व्यक्तिवादी हुनु पनि आफैमा गलत होइन, समय अनुसार भएको परिवर्तन हो भनी सोच्नुपर्छ ।” चाडपर्व मनाउने बहानामा आफन्तसँग समय बिताउने र एक–अर्कालाई निकट बनाउने भएकाले पर्वहरूको निकै महत्व भएको मिश्र बताउँछन् ।

काभ्रेकी रूपा खड्का न्यूरोडमा व्यापार गर्छिन् । कपडाको व्यापार गर्ने उनी बुबाको मुख हेर्न माइत जाने योजनामा छिन् । “कुशेऔंसीमा त म प्रत्येक वर्ष माइत जान्छु, आमा हुनुहुन्न, बा दाजुसँग बस्नुहुन्छ, बूढो भइसक्नुभयो”, उनले भनिन् । १३ भदौको बिहान गएर भोलिपल्ट फर्कने उनी बताउँछिन् ।

बुबाको मुख हेर्ने चलन २०\२२ वर्षअगाडि भन्दा अहिले निकै फरक भएको उनको अनुभव छ । “रातभरि चामल भिजाएर, कुट्नका लागि बिहान सबेरै उठ्नुपर्थ्याे । अनि रोटा हाल्ने, घ्यू हालेर खीर पकाउने, चिनीरोटी, फलफूल लिएर बालाई भेट्न माइत गइन्थ्यो,” उनी भन्छिन्, “अहिले त जे पनि बजारमा पाइन्छ, माइत जाने, सबैजना भेट्ने, रमाउने चलन नै हट्दै गयो ।”

अहिले त देखाउनकै लागि मात्र चाड माने जस्तो गर्ने चलन भएको उनको भनाइ छ ।

हाम्रा संस्कार र परम्परागत मूल्य–मान्यतालाई विकासको हिसाबले पनि हेर्नुपर्ने अर्थशास्त्री शिवराज अधिकारी बताउँछन् । विकासको परिभाषामा बाटो र गाडी मात्र नबुझ्न उनले आग्रह गरे ।

बजारको हिसाबले हेर्दा दैनिक जीवनशैलीमा आएको सकारात्मक परिवर्तन नै विकास भएको उनको भनाइ छ । “हाम्रा सांस्कृतिक परम्परालाई जोगाई राख्नुपर्ने दायित्वका साथसाथै विकृतिले भरिपूर्ण चलनलाई पनि फेरबदल गर्नु आवश्यक छ”, उनले भने ।

चाडपर्वलाई बजारले नियन्त्रण भने नगरेको उनी बताउँछन् । “केही निश्चित वर्गहरूको पहुँचमा मात्र रहेका बस्तु तथा सेवा अहिले हरेक वर्गको पहुँचमा पनि पुग्न सक्नु विकाश हो”, उनले भने ।

सकारात्मक तरिकाले हेर्दा संस्कार र परम्पराको जगेर्नासँगै परिमार्जन पनि हुन आवश्यक रहेको अधिकारीको भनाइ छ । बजारमा उपलब्ध सामानलाई सकारात्मक तरिकाले उपभोग गर्न पाउनु, क्षमता र दक्षता अनुसार किनमेल गर्नु पनि विकास भएको उनी बताउँछन् ।

 

प्रतिकृया दिनुहोस