हिमाल चिनाउने एप
ट्रेकिङ गाइड लिएर म्याग्दीको पुनहिल पुगेका उज्ज्वल कुँवरले अघिल्तिर देखिएको हिमालबारे जिज्ञासा राखे।
तर, गाइडले विवरण त परै जाओस्, हिमालको नामसमेत भन्न सकेनन्।
सूचनाप्रविधिको युगमा आफ्नै देशका हिमालबारे किन बेखबर हुने? यही जिज्ञासा बोकेर कुँवर एप डेभलपर विभुमान राजभण्डारीकहाँ पुगे।
२३ मंसीरदेखि जारी काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को मेसोमा यो एप सार्वजनिक गरिएको छ।
एपको प्रयोगले हिमाली शृंखलातर्फ मोबाइल सोझ्याएपछि स्त्रि्कनमा हिमालसँगै त्यसको नाम देखिन्छ।
नाममा क्लिक गरेपछि हिमालको उँचाइ र आफू उभिएको स्थानदेखि त्यहाँसम्मको दूरी पनि देखिन्छ।
एप सार्वजनिकीकरणसँगै राजभण्डारी हिमाल देखिने स्थानहरु, आरोहणकर्ता, रुट, मौसमदेखि आरोहण अनुमति जानकारीसमेत अटाउने तयारी गरिरहेका छन्।
“अहिले एपमा नेपालका १६० हिमाल राखिएका छन्, विस्तारै अरु देशका हिमाल पनि समेट्ने योजना छ”, स्याउडटकममा कार्यरत उनी भन्छन्।
जीपीएसमा आधारित यो एप एन्ड्रोइड स्मार्टफोन तथा एप्पलको आईओएसमा निःशुल्क डाउनलोड गर्न सकिन्छ।
एपको अर्को विशेषता भनेको अफलाइनमै पनि चल्नु हो।
नेपाल लोडसेडिङ सेड्युल, नेपाली क्यालेन्डर, नेपाली–अंग्रेजी डिक्सनरी जस्ता १७ वटा एप निर्माण गरिसकेका राजभण्डारीले एप डेभलपरको औपचारिक शिक्षा भने लिएका छैनन्।
“डेक्सटप सफ्टवेयर बनाउदा बनाउँदै यतातिर लागेको हुँ”, एपेक्स कलेजबाट कम्प्युटर इन्फर्मेसन सिस्टममा स्नातक राजभण्डारी भन्छन्।
शिव मुखिया