ब्लगबिहिबार, १२ भाद्र , २०७६

ढाँट्ने मन्त्रीलाई रेकर्डरको फन्दा

भैरव रिसाल

भाषण गर्दा आवेगमा अण्टसण्ट बोल्ने मन्त्रीहरू पत्रकारले कार्यक्रममा टेपरेकर्डर ल्याउन थालेपछि त्राहिमाम् हुन थाले, सम्हालिएर बोल्ने जिम्मेवार बन्दै गए।

मरिचमान सि‌ंह श्रेष्ठ

मुलुकमा पञ्चायती शासन शुरू हुनुअघि समाचार एजेन्सीका रूपमा निजी तवरबाट खोलिएका दुई वटा संवाद समिति थिए । १ पुस २०१६ मा नेपाल संवाद समिति र २०१७ वैशाखमा सगरमाथा संवाद समिति स्थापना भएको थियो । नेपाल संवाद समिति स्वतन्त्र समाचार, नेपाल टाइम्स, दि कमनर, जनता दैनिक, नेपाली जस्ता पत्रिका मिलेर खोलिएको थियो ।

यस्तै, सगरमाथामा नयाँ समाज का सम्पादक/प्रकाशक पशुपतिदेव पाण्डे, द मदरल्याण्ड का मणिन्द्रराज श्रेष्ठ, नेपाल समाचारपत्र का शङ्करनाथ शर्मा लगायत आबद्ध थिए । ती संवाद समितिले टाइपराइटरमा टाइप गरी लिथो मेशिनले छापेर दुई/तीन पृष्ठको बुलेटिन दिनमा तीन पटक निकाल्थे ।

पञ्चायत आएपछि ७ फागुन २०१८ मा दुवै संवाद समिति गाभेर सरकारले राष्ट्रिय संवाद समिति बनायो, जुन आजको राष्ट्रिय समाचार समिति (रासस) हो । त्यसबेला अस्थायी सञ्चालक समितिमा राजाराम पौडेल, गोविन्द वियोगी र मणिराज श्रेष्ठ थिए ।

२०१९ पुसमा भने राजा महेन्द्रका प्रेस सचिव रेणुलाल सिंहको अध्यक्षतामा रासस सञ्चालक समिति बनाइयो । यसै कारण रासस राजदरबारको संस्था हो कि सिंहदरबारको भन्नेमा मानिसमा भ्रम थियो ।

राससको शान, मन्त्रीहरूको झुट

रासस स्थापना भएपछि समाचार संकलन, प्रशोधन र वितरणमा एकलौटी अधिकार पायो । म राससमा २०२० भदौबाट संवाददाताको रूपमा प्रवेश गरेको हुँ । त्यसबेला पञ्चहरूले आयोजना गर्ने सभाहरूमा राससका संवाददाता नगई कार्यक्रम नै शुरू गर्दैनथे । मन्त्रीले पनि कुरेर बस्थे । त्यो एकातिर राससको शान थियो, अर्कातिर आफ्नो समाचार आओस् भन्ने पञ्चहरूको लोभी चिन्तन पनि थियो ।

कतिसम्म भने, संवाददातालाई आसन ग्रहण गराइन्थ्यो, माल्यार्पण नै गरिन्थ्यो । त्यत्रो सम्मान देख्दा कसोकसो लाजै लाग्ने ! यस्तो क्रम २०२१/२२ सालदेखि ५/६ वर्षसम्मै चल्यो ।

हामीले रिपोर्टिङ गर्दा मन्त्रीहरू सभा/कार्यक्रममा एकथोक बोल्ने र त्यही कुरा समाचारमा आएपछि मैले त्यस्तो बोलेकै होइन भनेर ढाँट्थे । तुलसी गिरी मन्त्रिपरिषद्का अध्यक्ष हुँदा हेटौंडामा एउटा कार्यक्रममा गएका थिए ।

त्यहाँ उनले भाषणमा भनेछन्, “पञ्चायतको जरा सुदूर उत्तर र सुदूर–दक्षिणसम्मै पुगेको छ ।” समाचार सङ्कलनका लागि गएका राससका जनरल म्यानेजर गोविन्दप्रसाद प्रधानले त्यही गूढार्थ कुरा टिपेर समाचार बनाए ।

समाचार आएपछि भारत र चीनका दूतावासले गम्भीर चासो व्यक्त गरे, यो के भनेको भनेर । उनीहरूले पञ्चायतको विरोध भारत र चीनले गराउँछन् भनिएको भन्ने बुझेछन् । आफ्नो भाषणबाट नसोचेको प्रभाव फैलिएपछि गिरीले आफूले त्यसो भन्दै नभनेको भनेर झुटो बोले ।

आवेगमा आएर उत्तेजक भाषण गर्ने र त्यो कुरा समाचारमा आएपछि आफूलाई समस्या पर्ने देखेर बोलेकै होइन भन्दै साखुल्ले बन्ने प्रवृत्ति सरकारी मानिसमा प्रशस्त थियो । त्यसले समाचार नै विश्वसनीय होइन कि भन्ने प्रश्न र सन्देहलाई पनि ठाउँ दिन्थ्यो ।

त्यसै कारण २०२२ सालदेखि होला, समाचार सङ्कलनका लागि जाँदा टेप रेकर्डर लैजाने निर्णय राससले गर्‍यो । मन्त्रीहरू सहभागी हुने कार्यक्रमहरूमा जाँदा हामीले अडियो रेकर्डर बोक्न थाल्यौं । 

मन्त्रीको भाषण शुरू हुन्थ्यो, हाम्रो टेप रेकर्डर पनि खुल्थ्यो । अब मन्त्रीको बोली रोकिन थाल्यो । गला सफा गरेको आवाज आउँछ, पसिना छुट्छ, बोली फुट्दै फुट्दैन ! मन्त्रीहरूलाई के परेछ भने, यो भाषणको रेकर्ड सोझै दरबार पुग्छ । आवेगमा अण्टसण्ट बोल्ने मन्त्रीहरूलाई टेप रेकर्डरले ठाउँमा ल्यायो । उनीहरू सम्हालिन थाले । अलि महीनापछि हामीले कार्यक्रमहरूमा रेकर्डर लैजान छोड्यौं ।

मरिचमानसँग ६ महीना बोलचाल बन्द

जनमत संग्रहपछि राष्ट्रिय पञ्चायतका अध्यक्ष तथा पञ्चायत नीति तथा जाँचबुझ् केन्द्रका प्रमुख मरिचमान सिंह श्रेष्ठ जनमतमा निर्दललाई जिताएकोमा पर्साका जनतालाई धन्यवाद दिन वीरगञ्ज गए । उनले मलाई पनि लगेका थिए ।

सभामा जनताको बाक्लो उपस्थिति देखेर मरिचमान हौसिए क्यार, भाषण गर्दा भने “नेपालको राजतन्त्र निरंकुश, तानाशाह र अधिनायकवादी हुनै सक्दैन ।” जनमत संग्रहमा निर्दलीय पञ्चायतलाई धाँधली गरेर जिताएको आरोप लागेको पृष्ठभूमिमा त्यसबेला राजामाथि एकाध ठाउँमा त्यस्ता आलोचना पनि भएका थिए ।

मैले समाचार लेख्दा ‘लिड’ नै त्यही राखें, ‘राष्ट्रिय पञ्चायतका अध्यक्ष मरिचमान सिंहले नेपालको राजतन्त्र निरंकुश, तानाशाह र अधिनायकवादी हुन नसक्ने बताएका छन् ।’ त्यसपछि त दरबार निकट व्यक्तिहरूले यस्तो कुरा किन बोलेको भनेर मरिचमानलाई र्‍याखर्‍याख्ती पारेछन् । राजनीतिमा ‘हुन सक्दैन/छैन’ भन्नुले परोक्ष रूपमा ‘हुन सक्छ/छ’ भन्नेतर्फ संकेत गर्ने उनीहरूको भनाइ थियो ।

आलोचना खेप्नुपरेपछि मरिचमानले ‘मैले नभनेको कुरा भैरवजीले समाचार बनाए’ भनेछन् । मेरो त पारा चढ्यो । वीरगञ्जबाट उनले गरेको भाषणको टेप मगाएँ । उनले त्यो भाषण नगरेको भए ममाथि कडा कारबाही हुनुपर्छ र बोलेकै हो भने त्यत्रो ठूलो मान्छेले ढाँट्नुहुँदैन भन्ने कुरा राखें ।

यही विषयका कारण मरिचमानसँग मेरो ६ महीना जति संवाद पनि भएन । अन्ततः त्यो कुरा यत्तिकै सामसुम भयो ।

प्रतिकृया दिनुहोस