फाइनल पुग्न नेपालले भुटानलाई जित्नैपर्ने दबाव
भारतमा जारी साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।
भारतको कल्याणी रङ्गशालामा बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउने छ ।
नेपालले साविक विजेता बङ्गलादेशलाई ४–१ गोलअन्तरले पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अहिले नेपाल र बङ्गलादेशको समान ६÷६ अङ्क छ तर, नेपाल हेड टु हेडको आधारमा बङ्गलादेशभन्दा अगाडि छ ।
बङ्गलादेश अङ्क तालिकाको तेस्रो स्थानमा छ । भारत ९ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । श्रीलङ्का तीन अङ्कका साथ चौथो स्थानमा छ भने अङ्कविहीन रहेको भूटान अन्तिम स्थानमा छ । बिहीबार हुने अर्को खेलमा भारतले बङ्गलादेशको सामना गर्नेछ ।
नेपालले भूटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ भने यदि बङ्गलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भूटान सहभागी छन् ।