कला/साहित्यशनिवार, पौष २, २०७३

उमाको इति (पुस्तक चर्चा)

बच्चु विक

इति शब्दले अन्त्य बुझाउँछ। उमा सुवेदीको उपन्यास इति पनि अन्त्यकै कथा हो, झापाको दामाटार गाउँको। सुन्दर दामाटार कसरी विरुप बन्छ, उपन्यासले त्यसैको व्यथा बोल्छ।

पुस्तक इति 

लेखक उमा सुवेदी

प्रकाशक अक्षर क्रिएशन्स

पृष्ठ २१९+

मूल्य रु.३००

गाउँको पीडा भनेको जंगली हात्ती हो। हात्तीको आक्रमणबाट गाउँलेको मृत्युसँगै अन्नबाली, सागपात सखाप हुन्छ। मानिस बेघर हुन्छन्। गरीबी, अशिक्षा र चेतना अभावले जेलिएको गाउँमा हात्ती थप संकट बन्छ, आतंकको पर्याय बन्छ। दैनिकी चलाउन गाउँले अनेकथरी काम गर्न बाध्य हुन्छन्।

त्यही गाउँकी युवती वर्षा उपन्यासकी मुख्य पात्र हुन्। उनका बुवा जगत गाउँकै सुपारी व्यापारी चिनीराजका साझ्ोदार हुन्। सुपारी तस्करीमा आफू फसिने भएकाले चिनीराज जगतलाई फसाउने जुक्ति निकाल्छन्। अनेक प्रलोभन देखाएपछि चिनीराजले नभई आफूले तस्करी गरेको जगतले प्रहरीसामु स्वीकार्छन् र सजाय भोग्न तयार हुन्छन्।

 

एक गाउँलेकै पहलमा जगत धरौटीमा छुट्छन् तर भोलिपल्टै बेपत्ता हुन्छन्। गाउँमा चिनीराजले नै बेपत्ता बनाएको हल्ला चल्छ। यता वर्षाकी जेठी दिदी कल्पना विवाह अघि नै गर्भवती हुन्छिन्। सानै छँदा आमाको मृत्यु, गर्भवती दिदी र बेपत्ता बुवा। दिदी कल्पनालाई सुत्केरी गराउँदा अस्पताललाई तिर्नुपर्ने रु.४० हजारका लागि कक्षा १० की विद्यार्थी वर्षा ठूलो सकसमा पर्छिन्।

त्यो तिर्ने उपाय नदेखेपछि उनी लागूऔषध कारोबारमा लाग्छिन्। अस्पतालको पैसा त तिर्छिन् तर केही समयपछि ब्राउन सुगरसहित पक्राउ पर्छिन्। १२ वर्ष जेल बस्छिन्। जेल सजाय काटेर गाउँ फर्किंदा दामाटार विजय बजार बनिसकेको हुन्छ। वर्षाको लागि अब दामाटारको झझल्को मात्र बाँकी हुन्छ।

दामाटारदेखि विजय बजारसम्मको रुपान्तरण प्रक्रियालाई उपन्यासकारले मन छुने हिसाबले वर्णन गरेकी छन्। बहुदलीय व्यवस्था पुनर्स्थापनादेखि संविधानसभाको निर्वाचनसम्मको समयावधि उधिन्न खोजिएको उपन्यासमा गाउँलेको अनुभव, गाह्रोसाह्रो मसिनो गरी लेखिएको छ। गाउँको जीवन, चाडपर्व, लवाइखुवाइ दुरुस्त उतारिएको छ। वर्षा, दिदी कल्पनासँगै अन्य गाउँलेका प्रेम कथाहरूले पाठकलाई बाँधिराख्छन्।

तोदा पछिको दोस्रो उपन्यास इति मा लेखक सुवेदीको मिहिनेत झ्ाल्किन्छ। तर, कृति अब्बल भने बन्न सकेको छैन। दामाटारलाई दुःखैदुःखको गाउँ बनाएकी लेखिकाले खुशीको झिल्कोसम्म फेला पार्न सकेकी छैनन्। खुशी नै लेख्नुपर्छ भन्ने होइन, कुनै पनि गाउँ सर्वथा पीडाले मात्र भरिएको हुन्छ भन्नु कथाको एउटा आयाम बिर्सनु हो। हराएका बुवाको प्रसंग हराएरै सकिन्छ। छोरी जन्मिएको एकवर्षपछि बिहे गरेकी कल्पनाको प्रसंगले उपन्यासलाई सुखद् अन्त्यतर्फ डोर्‍याउने आश जाग्छ। तर, यसमा पनि कन्जुस्याइँ देखिन्छ। सम्पादन खँदिलो नहुनु पुस्तकको अर्को कमजोरी हो।

दुई उपन्यास अलावा तप्किएर अञ्जुलीमा गजल संग्रह, तिर्सनाका छालहरू गीत संग्रहकी लेखिका सुवेदीको लेखाइ परिष्कृत भइरहेको भान हुन्छ। तसर्थ इति ले पाठकलाई निराश भने नै पार्दैन।

प्रतिकृया दिनुहोस