ओलम्पिक कमिटीमा ओली–नेपाल बीच नै प्रतिस्पर्धा !
नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयन गर्न आगामी २० भदौमा निर्वाचन हुँदैछ ।
यसपटक पनि फेरि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच नै प्रतिश्पर्धा हुने देखिएको छ । अहिलेसम्म अध्यक्षका लागि यी दुईले उम्मेद्वारी दिएका छन् ।
जीवनराम श्रेष्ठले बाँकी कार्यभार पूरा गर्न उम्मेद्वारी दिएको प्रतिक्रिया दिएका छन् भने उमेशलाल श्रेष्ठले खेलकुद क्षेत्रको पारदर्शितालाई आफ्नो एजेण्डा बनाएका छन् ।
कोषाध्यक्ष र उपमहासचिव पद बाहेक अरु जम्मै पदमा निर्वाचन हुने सम्भावना बढेका बेला अध्यक्ष पदको चर्चा बढी छ । अध्यक्षका दुवै उम्मेद्वार सत्तारुढ दल नेकपा निकटका हुन् ।
जीवनराम प्रतिनिधिसभा सांसद हुन् भने उमेशलाल नेकपा संस्थापक पुष्पपालका छोरा हुन् । ओलम्पिकमा पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गुट छिरेको प्रष्ट छ ।
जीवनराम श्रेष्ठ बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल गुटका हुन् भने उमेशलाल श्रेष्ठ अध्यक्ष केपी शर्मा ओलीको उम्मेद्वार हुन् ।