कला/साहित्यमंगलबार, १० भाद्र , २०७६

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि गगनलाई

हिमालखबर

वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७५ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि गगनबहादुर राईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभर छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदै आएको छ ।

‘लिब्जु–भुम्जु’ मा प्रकाशित ‘साइला बाँसुरि त्वाप्ता’ (साइला बाँसुरी बजाऊ) शीर्षक कविता छनोट भएको हो । यस कविताले किराती वाम्बुले राई सामाजिक लोक जनजीवन, परम्परागत मूल्यमान्यता, चालचलनमा तन्नेरी पुरुष र नारीबीचको माया प्रेमको चर्चा रहेको छ ।

प्रेमी र प्रेमिकाको प्रतीक बाँसुरी र बिनायो बाजालाई कलात्मक र आलंकारिक ढंगले जिन्दगीको सार बनाउने कवितामा अभिव्यक्त गरिएको छ ।

कवि गगन ओखलढुंगाको मानेभन्ज्याङका हुन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका उनी मातृभाषा वाम्बुले र खस–नेपाली भाषाका लेखक हुन् । उनका वाम्बुले मातृभाषा र नेपाली साहित्यमा रचना गरेका कविता, गजल संग्रह प्रकाशोन्मुख छन् ।

यो पुरस्कार मातृभाषा संरक्षण अभियानमा जुटेका स्रष्टाहरूका निम्ति नेपाल टेलिभिजनमा कार्यरत पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले ‘लिब्जु–भुम्जु’ पत्रिकाको नाममा २०५५ सालमा स्थापना गरेका हुन् ।

क्याम्पाराईले आफ्नो सिर्जना गीत, साहित्यबाट हासिल गरेका पारिश्रमिक तथा पुरस्कारबाट ‘लिब्जुभुम्जु पुरस्कार’ प्रदान गरिदै आएको र हाल लिब्जुभुम्जु अक्षयकोष निर्माण गरिएको छ ।

 

प्रतिकृया दिनुहोस