रिपोर्टशनिवार, पौष २, २०७३

अन्टार्कटिका पुगेका तीन नेपालीको अद्भुत अनुभव

हिमालखबर

- दीपक ज्ञवाली, बुटवल
मानवबस्तीविहीन, वनस्पतिरहित हिउँको संसार अन्टार्कटिका यात्राको दुर्लभ अवसर पाएकामध्ये तीन जना मंसीर पहिलो साता एकसाथ बुटवलमा भेटिए। उनीहरूको अद्भुत अनुभवको संक्षेपः
 

अन्टार्कटिका (साउथपोल)मा अर्जुनकुमार थापा

अन्टार्कटिका पृथ्वीको सबैभन्दा जोखिम, कठिन र खर्चालु मानिने महाद्वीप हो। त्यहाँ पुग्नु र सकुशल फर्किनु सामान्य कुरा होइन। 

पृथ्वीको अनेकौं आश्चर्यले भरिएको अन्टार्कटिका पुगेर फर्किने नेपाली कति होलान्? तथ्यांक प्रष्ट छैन। तर, बुटवलमै यस्ता तीन 'भाग्यमानी' भेटिए, जसले दुर्लभ यात्राको अनुभूत गरे। भुवनसिंह विश्वकर्मा (६४), आरबी (रामबहादुर) खत्री (५६) र अर्जुनकुमार थापा (३४) बीचको अर्को समानता के हो भने यी तीनैले भारतीय सेनामा कार्यरत रहँदा त्यस्तो जोखिमसँग आत्मसात् गरेका थिए।

“पहिले धेरैले पत्याउँदैनथे, धेरै पछि मात्र खोज्न र सम्मान गर्न थाले”, अन्टार्कटिका पुग्ने पहिलो नेपाली भनिएका विश्वकर्मा भन्छन्।

विश्वकर्मा भारतको छैटौं वैज्ञानिक अभियान दलका ९० जनाको टोलीमा सहभागी भई नोभेम्बर १९८६ मा त्यहाँ पुगेका थिए। वैज्ञानिक टोलीमा प्राविधिककै रूपमा विश्वकर्माले दुई पटक गरी अन्टार्कटिकामा २० महीना बिताए। फर्कंदा उनले ढुंगा र पेन्गुइनको अण्डाको बोक्रा ल्याएका थिए। जुन अहिले पनि उनीसँग सुरक्षित छ।

भारतबाट अन्टार्कटिकाको यात्रा सम्भव भए पनि विश्वकर्माको मन भने नेपालमै थियो। त्यसैले उनले अरू देशका वैज्ञानिकहरूलाई नेपाली टोपी बाँडे। “अन्टार्कटिकामा पहिलो पटक नेपाली टोपी पुगेको कुरा सम्झदा अहिले पनि रोमाञ्चित हुन्छु”, उनी भन्छन्।

भारतीय सेनाको अनुसन्धान टोलीमा प्राविधिक रामबहादुर खत्रीले नेपालमा राजनीतिक परिवर्तनको आन्दोलन उत्कर्षमा पुगेकै बेला सन् १९९० मा अन्टार्कटिकामा पाइला टेकेका थिए। हिन्द महासागर हुँदै त्यहाँ पुगेको टोलीका अनेकौं विचित्रका अनुभव छन्।

“परिवारसँग महीनामा ६ मिनेट मात्र कुरा गर्न पाइन्थ्यो”, खत्री सुनाउँछन्, “जब घरबाट श्रीमतीको फोन आउँथ्यो, महिलाको आवाज सुन्नकै लागि सबै फोनमा झुम्मिन्थे।”

खत्रीले कहिल्यै बिर्सन्नन् हिउँ नै हिउँले ढाकेको त्यो अनकन्टार ठाउँमा अर्को खुशी थपिएको दिन। हिमाल सँग उनले भने, “मानवरहित त्यही ठाउँमा, यात्राकै क्रममा जब बढुवा भएर फुली थाप्न पाएँ, खुशीको कुनै सीमा भएन।” उनले आफूलाई अन्टार्कटिकामा पुग्ने दोस्रो नेपाली भन्दै आएका छन्।

अर्जुनकुमार थापा त अन्टार्कटिकामा पृथ्वीको मध्यभाग 'दक्षिणी ध्रुव' सम्मै पुगे। विश्वकर्मा र खत्रीजस्तो उनी प्राविधिकको हैसियतमा नभई साहसिक यात्राका लागि पूरै भारतीय सेनाबाट छानिएका थिए। समुद्र सतहबाट ११ हजार फिट उँचाइमा रहेको यो भूभागमा सन् २०११ मा पुग्दा उनको उमेर २८ वर्ष मात्र थियो।

थापा अन्टार्कटिकाको प्रस्थानबिन्दु हर्कुलेस ईनलेट (८० डिग्री दक्षिणी अक्षांश) बाट दक्षिणी ध्रुवसम्मको यात्रालाई शब्दमा वयान गर्न नसकिने बताउँछन्। “५० दिनमा ११ सय १७ किलोमीटरको त्यो यात्रा वास्तवमै अद्भुत थियो”, उनी स्मरण गर्छन्।

अन्टार्कटिकापछि थापालाई भारतीय सेनाकै तर्फबाट सगरमाथा आरोहणको अवसर पनि मिल्यो, सन् २०१५ मा। तर, महाभूकम्पका कारण आधारशिविरबाट टोली फर्कियो। गत ७ जेठमा थापासहितको टोलीले सगरमाथाको पनि सफल आरोहण गर्‍यो।

“सगरमाथा आरोहणभन्दा अन्टार्कटिका यात्रा धेरै गाह्रो रहेछ” थापा तुलना गर्छन्। कहिल्यै रात नपर्ने अन्टार्कटिकाका ती दिनहरू सम्झ्ँदा थापालाई अहिले पनि अचम्म लाग्छ।

दक्षिणी ध्रुवको माइनस ४७ डिग्री सेल्सियस तापक्रममा आफ्नो २८औं जन्मदिन मनाएको प्रसंगले पनि उनलाई त्यो यात्रा बिर्सिनसक्नु बनाएको छ। भारतीय सेनाबाट अन्टार्कटिकाको दक्षिणी धु्रवमा पुग्ने पहिलो नेपाली आफू नै भएको थापाको दाबी छ।

बुटवलको जीवन
बाग्लुङमा जन्मिएका भुवनसिंह विश्वकर्मा पन्ध्र वर्षकै उमेरमा भारतीय सेनामा भर्ना भएका थिए। सेवानिवृत्त उनी अहिले बुटवलको लक्ष्मीनगरमा बसिरहेका छन्। अन्टार्कटिका यात्रा गर्ने पहिलो नेपालीका रूपमा प्रबल गोरखा दक्षिण बाहुसमेत पाएका विश्वकर्माको नाममा बुटवल र हेटौंडामा केही सडकको नामकरण गरिएको छ। उनीबारे वृत्तचित्र पनि बनेको छ।

अन्टार्कटिकाको बाक्लो हिउँमा पनि वेल्डिङ्ग गर्ने, तापक्रम बढाई हिउँ पगालेर पानी निकाल्ने, तापक्रम बढाएर दिसापिसाब विसर्जन गर्ने जस्ता सीप जानेका उनी अहिले फुर्सदमा छन्। भन्छन्, “त्यहाँको अनुभवले यहाँ धेरै काम गर्न सकिन्छ। तर, न मैले केही भनें न सरकारले चासो राख्यो।” अर्का यात्री खत्री त गुमनाम झैं छन्। गुल्मीका उनी पनि सेवानिवृत्त भएपछि बुटवलमै बस्छन्।

बुटवलकै थापा भने दुईमहीने छुट्टीपछि पुनः भारत फर्किंदैछन्। फोहोर गर्नै नपाइने अन्टार्कटिका र फोहोरै फोहोरले घेरिएको सगरमाथा दुवैको यात्रा सँगालेका उनी भन्छन्, “फोहोर व्यवस्थापनको अन्टार्कटिका अनुभव सगरमाथामा लागू गर्न सकिन्छ।”


यस्तो छ अन्टार्कटिका

अर्जुनकुमार थापा (बायाँबाट पहिलो) सहितको टोली साउथ पोलमा।


अन्टार्कटिका मानवबस्ती र वनस्पतिरहित महाद्वीप हो, जहाँ ज्वालामुखी चट्टान निर्मित पर्वतहरू छन्। ती सधैं बाक्लो हिउँले ढाकिइरहन्छन्।

करीब ५४ लाख वर्गमाइल क्षेत्रफलमा फैलिएको अन्टार्कटिकाको ९८ प्रतिशत भूभाग बाक्लो हिउँले ढाकिएको हुन्छ। यस महाद्वीपको सबै हिउँ पग्लिएमा समुद्रको सतह साठी मिटरसम्म बढ्न सक्ने वैज्ञानिकहरूको अनुमान छ।

पृथ्वीमा सबैभन्दा पछि पत्ता लागेको अन्टार्कटिका महाद्वीपमा ६ महीना पूरै अँध्यारो र ६ महीना पूरै उज्यालो हुन्छ। त्यहाँको दुई भागमा बेलह र रोस नामका दुई विशाल समुद्र छन्। तापक्रम माइनस ८९.३ डिग्री सेल्सियससम्म पुग्छ। हावाको वेग भने प्रतिघण्टा एक सय साठी किलोमिटरको रफ्तारमा हुन्छ। पृथ्वीको दक्षिणी ध्रुवमै पुगेका अर्जुनकुमार थापाको भनाइमा, मानव र वनस्पतिरहित अन्टार्कटिकामा पेन्गुइन, क्रिललगायतका जीव मात्र पाइन्छन्।

“अन्टार्कटिकालाई शक्ति राष्ट्रहरूले साझा अनुसन्धान थलोका रुपमा प्रयोग गरिरहेका छन्”, भुवनसिंह विश्वकर्मा भन्छन्। खनिज, युरेनियमलगायतको अनुसन्धानका लागि विश्वका ४० भन्दा बढी देशका अनुसन्धान टोली अन्टार्कटिका पुग्ने गर्छन्।

प्रतिकृया दिनुहोस