कला/साहित्यसोमबार, ९ भाद्र , २०७६

पलेँटीमा ‘लेकाली’ गुञ्जने

हिमालखबर

यो महीनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ मा प्रसिद्ध सांगीतिक समूह लेकाली परिवारको प्रस्तुति हुने भएको छ ।

यसका निम्ति लामो समयदेखि सामूहिक प्रस्तुतिबाट टाढा बसेका लेकालीका तीन सदस्यहरू नेपालयको ‘आर’ शालामा जुटेका छन् । झण्डै आधा शताब्दी पहिलेका दिनहरू सम्झँदै गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ एक अर्काको स्वरमा स्वर मिलाइरहेका छन् ।

लेकाली परिवार २०२४ सालमा स्थापना भएको सांगीतिक समूह हो । २०२५ सालको अन्त्यतिर लेकाली (परिवारले महेन्द्र पुलिस क्लबमा ‘छहराको गीत’ शीर्षक दिएर आफ्नो औपचारिक शुरुवात गरेको थियो ।

कार्यक्रममा गाइएका ‘लहरा पहरा’, ‘ट्याम्के डाँडा’, ‘ए है है, काफल पाक्यो’, गीतहरूले निक्कै चर्चा कमाएका थिए । त्यही कार्यक्रमबाट लेकालीले आफ्नो छुट्टै पहिचान स्थापना गर्न थालेको हो ।

लामो समयपछि लेकालीको नाममा फेरि मञ्चमा उपस्थित हुन पाउँदा उत्साहित बनेकी उर्मिला श्रेष्ठ भन्छिन्, “उहाँहरूले बनाएका गीतहरूले लोकगीतकै स्तरमा लोकप्रियता हासिल गर्नुमा ती गीतभित्र रहेको सामाजिक यथार्थताको चित्रणले गर्दा हो जस्तो लाग्छ ।”

लेकाली परिवारको पलेँटीमा चर्चित गायिका मीना निरौलाले पनि गायनमा साथ दिनेछिन् । यही महीनाको १३ गते शुरु हुने लेकालीसँगको पलेँटी तीन दिनसम्म चल्नेछ । कालिका स्थानस्थित ‘आर’ शालामा आयोजना हुने पलेँटीमा लेकालीलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन् ।

अंग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महीनादेखि महीनाको अन्तिम सप्ताहान्त शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस