रिपोर्टसोमबार, ९ भाद्र , २०७६

अमेजनको डढेलोः कहाँ छौं हामी ?

हिमालखबर

–मनिषा गौचन
केही दिन यता अमेजन जलिरहेछ । दक्षिण अमेरिकामा फैलिएको यो जंगलको चिन्ता हामीलाई पनि हुनुपर्छ । पृथ्वीका जीवजन्तुलाई चाहिने अक्सिजनमध्ये २० प्रतिशत यही जंगलबाट उत्पादन हुन्छ । अमेजन जल्दै गर्दा पृथ्वीको वायुमण्डलमै असर परिरहेको तथ्य वैज्ञानिकहरूले सार्वजनिक गरिरहेका छन् ।

मनिषा गौचन

जैविक विविधताका लागि प्रसिद्ध यो जंगल ५.५ मिलियन वर्ग किलोमिटरसम्म फैलिएको छ । यसको झन्डै ६० प्रतिशत भूभाग ब्राजिलमा पर्छ । त्यसकारण ब्राजिलले डढेलो नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको आरोप खेपिरहेको छ ।

यो त्यस्तो क्षेत्र हो, जहाँ ४०० भन्दा बढी आदिवासी जनजातिको बसोबास छ । विश्वकै दोस्रो लामो नदी अमेजन यही जंगल भएर बग्छ । नदीकै नामबाट जंगलको नामकरण भएको हो । अमेजन अत्यधिक पानी पर्ने क्षेत्र पनि हो । तर पछिल्लो समय सुक्खापन बढ्दै जाँदा छिटोछिटो डढेलो लागिरहेको छ ।

ब्राजिल नेशनल इन्स्टिच्युसन फर स्पेस रिसर्चका अनुसार गत वर्षभन्दा यो वर्ष ८३ प्रतिशतले डढेलो बढेको छ । सबैभन्दा धेरै अक्सिजन पूर्ति गर्ने संसारकै ठूलो जंगल डढेलोको चपेटामा पर्नु हाम्रो लागि पनि संकटको शंखघोष हो । तर, हामी सचेत छैनौँ ।

डढेलो लाग्नु भनेको रुखहरू जल्नु मात्रै होइन । कयौँ चराचुरुंगी तथा जीवजन्तुको अवसान हुनु हो । प्रकृतिको रङ उड्नु हो । यतिबेला कति जनावर छटपटिएका होलान् । कति चराचुरुंगी र किरा फट्यांग्रा क्षणभरमै खरानी भए होलान् । कल्पना गर्दा मात्रै पनि मुटु काँपेर आउँछ ।

डढेलोको धुवाँले २७ सय किलोमिटरभन्दा टाढाको साओ पाउलो सहरमा दिउँसै अँध्यारो भएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आए । उता त्यस्तो भइरहँदा नेपालमा के हुन्छ त ? देश रवि लामिछाने र छवि ओझाले तताएको बेला अमेजनको आगोले के तातियोस् ? 

अमेजन जंगलमा लागेको डढेलो तत्काल नियन्त्रण गर्न काठमाडौंस्थित ब्राजिलियन दूतावास अगाडि प्रदर्शन गर्दै नेपाली युवा । तस्वीरहरू : बिक्रम राई

धेरैका लागि अमेजनको डढेलो कोसौं टाढाको विषय हो । तर, सत्य कुरा के हो भने हामी निस्सासिँदै छौँ । पृथ्वीको आयु दिन प्रतिदिन घट्दै छ । यसको प्रमुख कारण तीव्र रूपमा तापक्रम बढ्नु नै हो । यो जलवायु परिवर्तनको मुख्य कारण बनेको छ जसको प्रत्यक्ष असर हामीले महसुस गरेका छौँ ।

म मेरो आफ्नै कथा सुनाउन चाहन्छु । म जन्मेको ठाउँ मुस्ताङ । मेरो आफ्नै घर त्यहाँ नभए पनि कसैले “घर कहाँ हो ?” भन्दा मुस्ताङ नै भन्छु । अनि मान्छेहरु सुनाइहाल्छन्, “मुस्ताङको स्याउ त वाउ...।”

म नियास्रो मुख लाउँदै भन्छु, “तर मेरो गाउँमा स्याउ हुँदैन...।” यसो भनिरहँदा आफ्नै चोर औँलाको टुप्पोनिर देखिने खत छाम्न पुग्छु । जुन मैले सानोमा स्याउ काट्दा आँसी (हँसिया)ले काटेको घाउको खत हो । औँला झण्डै चुँडिएको थियो । रुँदै रिसले स्याउ र आँसी पर हुर्‍याइदिएकी थिएँ ।

अहिले त्यही स्याउको खुब सम्झना आउँछ । खासमा त्यो स्याउ हाम्रो आफ्नै बारीमा फलेको थियो । बारीमा केही स्याउका बोट थिए । भदौ, असोजतिर खान मिल्थ्यो । तर, विस्तारै स्याउ फल्नै छाड्यो । ती रुख एउटा एउटा गर्दै दाउरा बने । अनि चुलाको आगो ।

ठूलो भएपछि, अझ भनूँ केही पढेलेखेपछि बुझ्न थालेँ यो सब जलवायु परिवर्तनको असर हो । मुस्ताङ जिल्लाको पुछारमा पर्ने हाम्रो गाउँ अचेल गर्मीको बेला निकै तातिन्छ । चिसोमा फल्ने स्याउले तातो कसरी सहोस् ? यस्ता उदाहरणहरू धेरै छन् ।

अहिले काठमाडौंका बारीहरूमा आँप मस्तसँग फलेको देख्न पाइन्छ । बूढापाकाहरू उहिलेको हिउँद र अहिलेको हिउँद भन्दै जाडोको मापन गर्छन् । त्यस्तै उहिलेको वर्षा र अहिलेको वर्षा भन्दै वर्षाको तुलना गर्छन् । गर्मीको तुलना गर्छन् । तर मौसममा भएको यति धेरै फेरबदल बारे हामी जानेर पनि बुझ पचाइरहेका छौँ । या बुझ्दै बुझेका छैनौँ । बुझ्नै पनि चाहदैनौं ।

यदि हामीले नबुझ्ने हो भने या बुझेर पनि केही कदम नचाल्ने हो भने क्रमिक रूपमा बढ्दै गएको तापक्रमका कारण जलवायु परिवर्तनका डर लाग्दा असरहरू भोग्दै जानुपर्ने छ ।

विश्वव्यापी रूपमा बढ्दै गएको हरितगृह ग्यासले गर्दा पृथ्वीको तापक्रम उच्च हुँदै गएको विज्ञहरूको अनुसन्धानले बताउँछ । ती ग्यास मानव समुदायकै कारण उत्पादित हुन् । हामी कस्ता छौँ भने, हामीलाई क्षणिक सुख भए पुग्छ । जसका निम्ति अरुको प्रवाह नै गर्दैनौं ।

घर बसाउन जंगल नास्छौं । खोलाको बालुवा रित्याउँछौं । माटो ढुंगा सिध्याउँछौं । यसले प्रकृतिमा पर्ने असरको बारेमा एक थोपा हेक्का राख्दैनौं ।
जब घर बन्छ । घर सफा राख्न फोहोर जति बाहिर जथाभावी फाल्छौं । शौचालयको पाइप र ढल सीधै खोलामा पुर्याउँछौं । बिचरा खोलाले कति बगाएर लगोस् ?

अहिले त हेर्दा हेर्दै काठमाडौंका खोलामा पानीभन्दा बढी मलमूत्र बग्छ । नाक थुनेर यो दुर्दशा हेर्छौं । तर, आफ्नो घरबाट जाने फोहोर मैलाको व्यवस्थापन गर्दैनौँ । जथाभावी प्लास्टिकको प्रयोगले वातावरण प्रदूषित भएको कुरा सुन्दै पढ्दै आएका हौँ । हामीलाई हरेक सामान बोक्न प्लास्टिक चाहिन्छ । पुनः प्रयोग गर्दैनौँ । हाम्रा यिनै गतिविधिले वातावरण झनभन्दा झन प्रदूषित भइरहेको छ ।

वातावरण प्रदूषणका कारण कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता ग्यासको मात्रा बढ्दै गएको विभिन्न अध्ययनले पुष्टि गर्छ । संयुत्तः राष्ट्र संघको मौसम सम्बन्धी निकाय डब्ल्यूएमओको पछिल्लो प्रतिवेदन स्टेट अफ द क्लाइमेट अनुसार हरितगृह ग्यास अहिलेसम्मकै उच्च तहमा पुगेको छ ।

देश रवि लामिछाने र छवि ओझाले तताएको बेला अमेजनको आगोले के तातियोस् ? धेरैका लागि अमेजनको डढेलो कोसौं टाढाको विषय हो । तर, सत्य कुरा के हो भने हामी निस्सासिँदै छौँ । पृथ्वीको आयु दिन प्रतिदिन घट्दै छ । यसको प्रमुख कारण तीव्र रूपमा तापक्रम बढ्नु नै हो । यो जलवायु परिवर्तनको मुख्य कारण बनेको छ जसको प्रत्यक्ष असर हामीले महसुस गरेका छौँ ।

जसका कारण पृथ्वीको तापक्रम अत्यधिक बढेको छ । हिम शिखर पग्लिनु, समुद्री आँधी बढ्नु, विभिन्न प्रजातिका जीवजन्तु लोप हुनु, डरलाग्दा रोगहरू निम्तिनु यसका असर हुन् ।

विश्वमा तापमान बढिरहेकै बेला अमेजनको जंगलमा पटक पटक डढेलो लागेर झन् खतरनाक संकेत दिएको छ । यस्तो अवस्थामा हामीले आफ्नै ठाउँबाट पनि हरित ग्यास न्यूनीकरणमा ध्यान दिन सक्छौँ । सक्दो मात्रामा बिरुवा रोप्ने । वातावरण सफा राख्ने । प्लास्टिकको प्रयोग सकभर नगर्ने । विद्युतीय उपकरणहरूको प्रयोगमा कमी गर्ने । आफ्ना वरपरकालाई पनि जलवायु परिवर्तन र यसका असर बारे जानकारी दिने इत्यादि ।

नेपाली उखान नै छ एकले थुकी सुकी सबैले थुकी नदी । हामीले गरेको योगदान आफ्नै लागि मात्र नभएर भावी पुस्ताका लागि पनि अमूल्य सावित हुने छ । होइन भने हामीलाई हाम्रै भावी पुस्ताले सराप्ने छ । किनकि जलवायु परिवर्तनको भयानक असरको खास भागिदार हामी नै हौँ, भावी पुस्ता हैन ।

 

प्रतिकृया दिनुहोस