रवि लामिछानेको बयान सकियो, थुनछेक बहस हुँदै
चितवन जिल्ला अदालतमा टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको बयान सकिएको छ । अस्मिता कार्कीको बयान आइतबार नै सकिएको थियो ।
बयान सकिएकाले अब थुनछेक बहसको तयारी भइरहेको छ । सोमबार नै थुनछेक बहस गर्ने अदालतले जनाएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रविसहित तीनै जनालाई हिरासतमा लिएर अनुसन्धान गरिएको छ । गत ३० साउनमा पक्राउ परेका तीनै जनाको अनुसन्धान प्रतिवेदन चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
प्रहरी अनुसन्धान प्रतिवेदनपछि पत्रकार पौडेललाई आत्महत्याका लागि दुरुत्साहन गरिएको पर्याप्त प्रमाण भेटिएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ । तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ ।